जाजरकोटको लहँका युवा उद्यमी धर्मराज रावलको गत वर्ष फागुन महिनामा भीरबाट लडेर ज्यान गयो।
मौरीभीरको बाटो हुँदै घर फर्किने बेलामा बाटोबाट लड्दा उनको निधन भएको थियो ।
मङ्सिर महिनायता लहँकै अन्य तीनजनाको रूख र भीरबाट लडेर मृत्यु भएको वडाध्यक्ष लक्ष्मीबहादुर रावलले बताए।
घाँस काट्ने बेला भीर र रूखबाट लड्ने घटना वर्षेनी दोहोरिने गरेको उनी बताउँछन् ।

घाँसपात, स्याउला, सोतरको लागि ज्यानै जोखिममा राखेर रूख-भीर गर्नुपर्ने कर्णालीका महिलाहरूको गुनासो छ
अकालमै जान्छ ज्यान
घाँसदाउरा गर्ने क्रममा, बाटोमा हिँड्दाहिँड्दै चिप्लिएर, ढुङ्गा खसेर, खर काट्ने क्रममा तथा रूख र भीरबाट लडेर कर्णाली प्रदेशमा बर्सेनि दर्जनौँ व्यक्तिले अकालमै ज्यान गुमाउने गरेका छन्।
चालु आर्थिक वर्षको साउन महिनायता मात्र भीर र रूखबाट लडेर ३७ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
लडेर मृत्यु भएपछि शवपरीक्षण गर्नुपर्ने, भवितव्य ज्यानसम्बन्धी मुद्दा दर्ता हुने, सनाखत मुचुल्का बनाउनुपर्ने झन्झटका कारण धेरैले प्रहरीलाई जानकारी नै नदिएर अन्तिम संस्कार गर्ने गरेको समेत प्रदेश प्रहरीले जनाएको छ।
कर्णालीका सबै स्थानीय तहमा वर्षमा एक-दुई जनादेखि एक दर्जनभन्दा बढीको सङ्ख्यामा लडेरै मानिसहरूले ज्यान गुमाउँदै आएको प्रहरीको विवरण छ।
कानुनी झन्झट
जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशबहादुर विष्टका भनाइमा सदरमुकामभन्दा बाहिर शवपरीक्षण गर्ने व्यवस्था नहुनु र कानुनी झन्झट बेहोर्नुपर्ने भएकोले धेरैले प्रहरीलाई खबर नै गर्दैनन्।
भौगोलिक रूपमा विकट कर्णालीमा रोगबाट भन्दा पनि लडेर मृत्यु हुने समस्या ठूलो रूपमा रहेको सरकारी अधिकारीको भनाइ छ।
कर्णाली प्रदेशकी स्वास्थ्य निर्देशक रीता भण्डारी भन्छिन्, “साउनदेखि अहिलेसम्म लडेर ३७ जनाले ज्यान गुमाउँदा यो अवधिमा मौसमी रुघाखोकीको कारण दम र मुटु रोगले आठ जनाको मृत्यु भएको छ।”

लडेर ज्यान गुमाउनेमा अधिकांश चौपाया पाल्ने किसान रहेका छन्
धारमा जीवन
लडेर ज्यान गुमाउनेमा अधिकांश चौपाया पाल्ने किसान रहेका छन्।
पश्चिम रुकुमकी देउकली रोकायाले रुखबाट लडेर ज्यान गुमाएकी थिइन्।
उनकी बुहारी सपना रोकायाले सुनाइन्, “रूखभीर नगरी खान नपुग्ने भएकोले ज्यानलाई सधैँ हत्केलामा राखेर काम गर्नुपर्ने बाध्यता छ।”
रोगभन्दा पनि रूख, बाटोघाटो र भीरपाखाले मानिसको ज्यान लैजाने गरेको भन्दै उनी चिन्ता व्यक्त गर्छिन्।
गाउँघरमा बस्दा बस्तुभाउ नपालीकन दैनिक गुजारा गर्न समेत कठिन हुने बाध्यता रहेको सुर्खेतकी धनरूपा विकको भनाइ छ।
उनी भन्छिन्, “घाँसपात, स्याउला, सोतरको लागि ज्यानै जोखिममा राखेर रूखभीर गर्नुपर्छ।”
मुख्य समस्या
जाजरकोट, रुकुम, कालीकोट, डोल्पा, सुर्खेत, सल्यानजस्ता जिल्लाका अधिकांश बस्ती भिरालो ठाउँ र डरलाग्दा भीरपाखामा रहेको बताइन्छ।
जाजरकोटको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह भन्छन्, “हाम्रो गाउँपालिकामा मात्रै गत वर्ष रूख र भीरबाट लडेर २४ जनाभन्दा बढीले ज्यान गुमाए। यो वर्ष पनि लडेर १२ जनाजतिको मृत्यु भइसक्यो।”
विकट बस्ती र जोखिम बढी भएका किसानको गाउँपालिकाले बीमा गर्न खोजे पनि कुनै पनि बीमा कम्पनीले नमानेको अध्यक्ष शाह बताउँछन् ।
उपचार अभाव
छिमेकी जिल्लाबाट सुर्खेत, कोहलपुर, नेपालगन्जका अस्पताल लैजाँदालैजाँदै कतिपयको बाटोमै मृत्यु हुने गरेको पीडित परिवारका मानिसहरूको साझा अनुभव छ।
गाउँमा सडक सुविधा नहुँदा र भएका ठाउँमा पनि एम्बुलेन्स सेवा र अन्य सवारी साधन नपाउँदा घाइतेलाई तत्कालै उद्धार गर्नसमेत समस्या हुने गरेको थुप्रैको अनुभव छ।
भीरबाट लडेर ज्यान गुमाएका धर्मराजका मामा भक्तबहादुर ओलीले सुनाए, “गाडी पुग्ने ठाउँसम्म बोकेर ल्याउन, एम्बुलेन्स खोज्दाखोज्दै मेडिकल कलेज कोहलपुर पुर्याउन १२ घण्टा लागेपछि भान्जालाई बचाउन सकिएन।”

घाँस काट्ने बेला भीरबाट लडेर बाँच्न सफल मिश्रीलाल पुनलाई खुसी भएर गाउँलेहरूले निधारमा पैसा लगाइदिए
रूख र भीरबाट लड्नेबित्तिकै हेलिकप्टरबाट उद्धार गर्ने व्यवस्था गर्न सके धेरैको जीवन जोगिने आफन्तहरू बताउँछन्।
पुर्नजन्म
रूख र भीरबाट लडेर बाँच्न सफल भएकाहरूका लागि नयाँ जीवन पाएको अनुभव हुने गरेको छ।
घाँसै काट्ने क्रममा भीरबाट झन्डै २०० मिटर तल खसेर बाँच्न सफल भएका मिश्रीलाल पुनले सुनाए, “म लडेकै भीरबाट अहिलेसम्म १०–१२ जना गाउँलेको लडेर मृत्यु भयो। तर म भने कसरी बाँच्न सफल भएँ सोचेर अचम्म पर्छु।”
घाँस काट्ने बेला रूखबाट लडेर ह्वीलचेअरमा हिँडडुल गर्दै आएकी धनरूपा विक पनि आफू भाग्यले बाँचेको बताउँछिन्।
कालीकोटको पचाल झरना गाउँपालिकाकी उपाध्यक्ष तारा न्यौपाने भन्छिन्, “रूखभीरबाट बर्सेनि मृत्यु हुन थालेपछि खेतबारीमै डालेघाँस लगाउन उत्प्रेरित गर्नेदेखि नाङ्गो भीरपाखामा बोटबिरुवा रोप्ने अभियान चलाइएको छ।”
कर्णाली प्रदेश सरकारले बाढीपहिरो, आगलागी, चट्याङजस्ता प्राकृतिक प्रकोपबाट मृत्यु हुनेहरूको परिवारलाई राहत दिनको लागि एक लाख रुपैयाँको बीमा गरेको छ ।
अब रूख र भीरबाट लडेर ज्यान गुमाएका आफन्तलाई पनि उक्त बिमामा समेट्नु पर्ने धेरै जनाको माग छ।(बीबीसीबाट )
राराखबर । २०७७, ५ जेष्ठ सोमबार