बद्री पन्त
जाजरकोट
केहि बर्ष अघि जाजरकोटमा प्रायः सबै घरमा भैंसी पालिएका हुन्थे । कुनै घरमा त ३ देखि ६ वटासम्म दुहुना भैंसी हुन्थे ।
जाजरकोटको नलगाड नगरपालिका ४ को लहँगाउँ केही वर्ष पहिलेसम्म भैंसीको दूध, दही, मोही र घिउका लागि प्रख्यात मानिन्थ्योे ।
यहाँ अहिले २ सय ५० बढी परिवारको बसोबास छ । तर, अहिले अवस्था फेरिएको छ ।
चरन क्षेत्रको अभाव, पशुपालनप्रति घट्दो आकर्षण र अधिकांश गाउँका पुरूष अन्य काम खोज्दै भारत जाने गरेकाले ब्याउने र दुहुना भैंसी समेत मासुका लागि बिक्री गर्ने क्रम बढेको किसान लाल बहादुर वलीले बताउनु भयो ।
जिल्लाका अधिकांश परिवारले भैंसी पाल्न छोडिसकेका छन् ।
पहिले दूध, दही, मोही र घिउ बिक्री गर्ने परिवार अहिले आफैं किनेर खान्छन् वलीले भन्नु भयो ।
‘एउटा दुहुनो भैंसी नभएको त कुनै घर हुदैन्थे,’ वलीले भन्नु भयो ।
पहिले अन्य स्थानबाट दुधालु भैंसी खोज्नेहरू यसै गाउँमा आउँथे ।
टिनका टिन घिउ हुन्थ्यो अहिले सवै हरायो कृषक वलीको भनाइ छ ।
मासुका लागि भैंसीको व्यापार गर्नेको आँखा परेपछि यहाँ भैंसीको किनबेच बढ्यो ।
पाल्न झन्झट हुने र स्थानीयस्तरमा चलेकोभन्दा धेरै मूल्य पाइन थालेपछि स्थानीयले भैंसी बेचेको अर्का भैसी पालक कृषक मालबहादुर खत्रीले बताउनु भयो ।
कतिपय व्यापारीले पाल्न भन्दै किसानलाई झुक्याएर मासुका लागि भैंसी किन्ने गरेको खत्रीले बताउनु भयो ।
खत्रीका अनुसार यहाँबाट किनिएका भैंसी व्यापारीले जिल्ला बाहिर काठमाण्डौसम्म लगेर मासुका लागि बेच्ने वा आफैंले समेत काटेर मासु बेच्ने गर्छन् ।
सबै भैंसी किनेर मासु बेच्ने ठाउँतिर लगे ।
गाउँमा चलेको मूल्यभन्दा धेरै मूल्य दिएपछि सबैले धमाधम भैंसी बेच्न थाले ।
अहिले गाउँमा दही दुध नै पाइँदैन्, खत्रीले भन्नु भयो ।
जिल्लामा भैंसीको संख्या कम भएको छ । मासुको प्रयोजनका लागि दुधालु भैंसीको किनबेच बढेसँगै स्थानीय जातका भैंसी लोप हुने अवस्थामा पुगेको कुशे गाउँपापलिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनु भयो ।
घरमा पाल्ने मान्छे पनि नभएकाले ब्याउने भैंसी साउनमा ५० हजार रुपैयाँमा बेचेको नलगाड ४ का रामबहादुर रावलले बताउनु भयो ।
पशु स्वास्थ्य ऐन, २०५५ र नियमावली २०५६ मा भैंसी बाँझो भएको भनेर पशु स्वास्थ्य चिकित्सकले जाँच गरी प्रमाणित गरिसकेपछि मात्र मासुका लागि प्रयोग गर्न पाउने व्यवस्था छ ।
तर यहाँ उक्त नियमको बेवास्ता गर्दै मासुकै लागि सबै खालका भैंसी जिल्ला बाहिर निकासी गर्नेक्रम निरन्तर चलिरहेको छ ।
गत बर्ष जाजरकोट जिल्लाबाट ७ सय बढी भैंसी जिल्ला बाहिर तस्करी भएको बताइएको छ ।
आजभोलि गाउमा भैंसी नै पाउन छाडेका छन । आर्थिक प्रलोभनमा भैंसी बाहिर पठाउने क्रम बढदै गएको छ ।
कति स्थानीय तहले भैंसी बाहिर लैजान रोक लगाए पनि यो प्रभावकरी देखिएको छन् ।
राराखबर । २०७७, २३ पुष बिहीबार