सुर्खेत २, साउन ।
आर्थिक वर्ष २०७२÷०७३ मा सुर्खेतको विकासका लागि आएको बजेट मध्ये २५ प्रतिशत बजेट खर्च हुन नसकी फिर्ता भएको छ ।
पूँजीगततर्फ ३ अर्ब ९६ करोड ९५ लाख १२ हजार र चालूगत तर्फ को ५ अर्ब ३ करोड ५८ लाख २१ हजार गरी ९ अर्ब ७३ करोड ६३ लाख ६८ हजार रुपैयाँ आएको थियो ।
सुर्खेतको लागि आएको मध्ये चालू तर्फ ९३ दशमलव ३४ प्रतिशत र पूँजीतर्फ ७४ दशमलव ९९ प्रतिशत मात्रै बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय सुर्खेतले जनाएको छ ।
कार्यालयका कोष नियन्त्रक शक्तिप्रसाद पौडेलले पूँजीगत तर्फ २ अर्ब ९७ करोड ६७ लाख ८५ हजार र चालू तर्फ ४ अर्ब ७० करोड ५ लाख ४६ हजार गरी ७ अर्ब ६७ करोड ७३ लाख ३१ हजार रुपैयाँ मात्र खर्च भएको बताउनु भयो ।
सुर्खेतमा आर्थिक वर्ष २०७२÷०७३ का लागि आएको कुल बजेटमध्ये पूँजीगत तर्फ ९९ करोड २७ लाख र चालूतर्फ ३३ करोड ५२ लाख ७५ हजार गरी १ अर्व ३२ करोड ८० लाख २ हजार रुपैया खर्च हुन नसकी फिर्ता भएको उहाँले जानकारी दिनुभयो ।
विगतका वर्षमा पनि विकास निर्माणको काम हुन नसक्दा पूँजीगत तर्फको सबै बजेट खर्च हुन नसकेको वताएको छ ।
ढिलो अख्तियारी आउनु, योजनाको सम्झौता ढिलो हुनु र सम्झौता अनुसार समयमा काम नहुनु जस्ता कारणले बर्षेनी बजेट फिर्ता जाने गरेको हो ।
यसैवीच कोष तथा नियन्त्रण कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७२÷०७३ मा सुर्खेतका कार्यालयहरुले ५८ करोड ३७ लाख ७६ हजार रुपैयाँ राजस्व असुली गरेको जनाएको छ ।
राजस्व असुली गत आर्थिक वर्षको भन्दा ४५ दशमलव २८ प्रतिशतले बृद्धि भएको छ ।
राराखबर । २०७३, २ श्रावण आईतवार