अझै धामीझाँक्रीमै

सिस्ने ८ सिस्नेपोखरीकी ६२ वर्षीया शकुन्तला बुढा अहिलेसम्म दर्जनौंपटक बिरामी भइन् । तर उनले अहिलेसम्म स्वास्थ्य चौकीमा उपचार गराएकी छैनन् ।

‘बिरामी भए धामीझाँक्रीकोमा पुग्छौं,’ उनी भन्छिन्, ‘अस्पताल जान ५ घण्टा लाग्ने भएकाले धामीझाँक्रीकै भर बढी छ ।’ उनकै छिमेकी ५२ वर्षीया पम्फा बुढाले आफू र परिवारका ४ जना सदस्य बिरामी हुँदा अहिलेसम्म धामीझाँक्रीकामै जाने गरेको बताइन् । उनीहरूमात्र होइन गाउँका सबैजसो घरधुरीमा स्वास्थ्य चौकीभन्दा धामीझाँक्रीकै भर छ । स्वास्थ्य चौकी रहेको सिस्ने २ भट्टेचौरमा पुग्न स्थानीयलाई कम्तीमा ५ घण्टा लाग्छ ।
स्थानीय बासिन्दाका अनुसार स्वास्थ्य चौकी टाढा भएपछि उनीहरू धामीझाँक्रीकै भर पर्न थालेका हुन् । स्थानीय प्राथमिक विद्यालयका शिक्षक उमेश खड्काले स्थानीयहरू जटिल अवस्थामा बिरामी पर्दामात्र स्वास्थ्य चौकी जाने गरेको बताए । उनले गाविसका कुनै न कुनै घरमा दिनहुँ ढ्यांग्रो बज्ने गरेको जनाए । धामीझाँक्रीले गर्ने जडिबुटीको उपचारबाट स्थानीयवासीको रोग सञ्चो हुने गरेकाले पनि उनीहरू स्वास्थ्य चौकीभन्दा धामीझाँक्रीको भर पर्छन् । युवाको स्वास्थ्य चौकीप्रति भरोसा भए पनि बुढापाकाहरू बिरामी भएपछि स्वास्थ्य चौकी जान मान्दैनन् ।
बिरामीको धामीझाँक्रीप्रतिको विश्वासले यहाँका धामीझाँक्रीहरू व्यावसायिक बन्दै गएका छन् भने युवा पुस्तामा पनि यसको मोह पलाएको छ । स्थानीय युवा सोविराम बुढा स्थानीय स्वास्थ्य चौकीहरूमा स्वास्थ्यकर्मीहरू नियमित नहुनु, औषधिको पर्याप्तता नहुनु र स्वास्थ्य चौकी भोगोलिक रूपले टाढा हुनुले धामीझाँक्रीप्रति विश्वास भएको बताउँछन् । धामीहरू स्थानीय जडिबुटिहरू र तान्त्रिक विधिअनुसार जस्तोसुकै बिरामीलाई पनि ठीक पार्ने दाबी गर्छन् ।
स्थानीय धामी प्रेमबहादुर बुढा ४५ वर्षदेखि यो काम गरिरहेको बताउँछन् । उनले अहिलेसम्म आफूले हेरेका सबै बिरामीलाई निको बनाएको दाबी गरे । उनले तान्त्रिक विधिबाट नभए घरेलु औषधि र जडिबुटीबाट बिरामीलाई ठीक पारिरहेको दाबी गरे । उनले एक जना बिरामीको उपचार गरेबापत दुई हजार रुपैयाँसम्म लिने गरेको जनाए ।
सिस्नेस्थित स्वास्थ्य चौकीका इन्चार्ज शंकर ओलीले जनचेतनाको कमीका कारण यस्तो समस्या आएको बताउँछन् । अशिक्षा र स्वास्थ्यप्रति स्थानीयको जनचेतनाको कमीका कारण सबैलाई स्वास्थ्य संस्थामा उपचारका लागि पुर्‍याउन नसकिएको उनले जनाए । उनले महिला स्वास्थ्य स्वयंसेविकाहरूमार्फत जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाए ।

pp




फेसबुकबाट तपाईको प्रतिक्रिया