जाजरकोटको दम्दालमा सुन्तला सेलार स्टोर

बद्री पन्त
जाजरकोट
जाजरकोटको कुशे गाउँपालिका—५, दम्दाला गाउँमा अर्गानिक सुन्तला भण्डारका लागि सेलार स्टोर भवन निर्माण गरिएको छ ।  उचित भण्डारण अभावमा बढी उत्पादन भएको सुन्तला खेर नजावस भनेर भवन निर्माण गरिएको हो ।
कृषकले वर्षेनी उत्पादन गरेको सुन्तला कुहिएर खेर नजावस भनेर सुविधा सम्पन्न भण्डारण भवन (सेलार स्टोर) निर्माण भएपछि कृषकलाई सुन्तला भण्डारण गर्न सहज भएको सुन्तला कृषक शक्तीबहादुर वलीले बताउनु भएको छ ।  बेमौससम्मका लागि सेलार स्टोरमा सुन्तला भण्डारण गर्न सहज भएको वलीको भनाइ छ ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ जाजरकोटको १२ लाख तथा प्रगतिशिल युवा कृषि सहकारी संस्थाको १२ लाख लागतमा सेलार स्टोर निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ, जाजरकोटका प्रमुख पीताम्बर बस्नेतले जानकारी दिनु भयो ।
सेलार स्टोरले ग्रामीण क्षेत्रमा उत्पादित सुन्तलालाई उचित भण्डारण गर्दै त्यसको गुणस्तरलाई कायम राख्न मद्दत पुग्ने बस्नेतको भनाई छ ।
उचित भण्डारणको अभावमा यस क्षेत्रका कृषकले आफ्नो उत्पादन कम मूल्यमा विक्री गर्दै आएका थिए ।
अब गाउँमै सेलार स्टोर निर्माण भएपछि सुन्तलाको माग बढेका बेला कृषकले बढी मूल्यमा सजिलै विक्री गर्न सहज हुने प्रमुख बस्नेतको भनाई छ ।
कृषिजन्य वस्तुको भण्डारण सेलार स्टोर निर्माणले यस क्षेत्रका कृषकको पुरानो मागलाई सम्बोधन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ, जाजरकोटले समेत महत्वपूर्ण भूमिका खेलेको गाउँपालिका अध्यक्ष हरीचन्द्र बस्नेतले बताउनु भयो । गाउँमै सेलार स्टोर निर्माण भएपछि कुशेका सुन्तला कृषकमा नयाँ उत्साह पलाएको छ ।
भवन भित्र सुन्तला भण्डारण गर्न सहजताका लागि काठका ¥याकहरु निर्माण गरिएका छन् ।  भवनमा कृषकको मात्र सुन्तला भण्डार गरिनेछ । कुशेमा सुन्तला उत्पादन क्षेत्र विस्तारसँगै वृद्धिमा समेत टेवा पुग्ने देखिएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया