सरकारी जागिरे सदामको कृषि मोह

सुर्खेत
कर्णाली प्रदेश प्रदेश सभामा कार्यरत जाजरकोटका सदामसिंह राठौरले सरकारी जागिरबाट बचेको समय कृषि कर्ममा खर्चिदै आएका छन् ।
दैलेख गुराँस गाउँपालिका –७, लालिकाँडामा व्यवसायिक किवी खेती गरिरहेका उनी बिदाको समय कृषि फार्ममै विताउँछन् ।
उनले संचालन गरेको यो किवी फार्म सम्भवत कर्णाली प्रदेशकै सवैभन्दा ठुलो किवी फर्म ठानिएको छ ।
७० रोपनी जग्गामा किवी खेती गरेका राठौर किवीले तीन बर्षपछि आम्दानी दिन थाल्ने बताउँछन् ।
उनी भन्छन्, विरुवा लगाएको ११ महिना भयो । अबको दुई बर्षपछि किवीले आम्दानी दिन थाल्नेछ ।
फार्ममा एलिसान जातको ९ सय वोट किवीका बोट छन् ।


७० लाख लगानी
उनले किवी फार्ममा अहिलेसम्म करिव ७० लाख रुपैया रुपैया लगानी गरिसकेका छन् ।
अहिले उनको फार्ममा किवीका विरुवालाई ठ्याङ्ग्रा दिनको लागि सिमेन्टको पिल गाडने काम चलिरहेको छ ।
कृषि गर्दा समयको सदुपयोगसँगै आम्दानीमा पनि टेवा पुग्ने र रोजगारी पनि सृजना हुने देखेर व्यवसायिक रुपमा किवी खेती थालेको उनी बताउँछन् ।
६ बर्षदेखि सरकारी सेवामा कार्यरत उनले आफ्नो फार्ममा अहिले ९–१० जना गाउँलेलाई रोजगारी समेत दिएका छन् ।
कुराका खेती हैन, खेतीका कुरा गरौं भन्ने सोच राखेर अघि बढेका राठौर किवी बाहेक जापानिज हलुवाबेद, विभिन्न जातका नास्पति, एभोकाडा, अम्बा, देवदार सल्ला जस्ता उपयोगी फलफुल र विरुवा पनि लगाउने सोचमा छन् ।
लकडाउनको समयमा बन्दाबन्दीमा पर्दा कृषि व्यवसाय सम्बन्धी सोच पलाएको बताउने उनी मल्टिफार्मिङ्ग गर्ने सोचमा छन् ।
जन्मजात कृषक नभएपनि आफुलाई निजामती सेवा सँगै सफल कृषक, उद्यमी र व्यवसायीको रुपमा स्थापित हुने उनको चाहाना छ ।


किवीको फार्मसँगै अचार उद्योग
किवीको फार्मसँगै अकबरे खुसनीको खेती पनि गरिरहेका छन् ।
वीरेन्द्रनगरमा कर्णाली अचार उद्योग संचालन गरेर उनले विभिन्न किसिमका अचार पनि बेचिरहेका छन् ।
आन्तरिक तथा बाह्य बजारमा अचारको माग उच्च भएपनि कच्चा पदार्थको अभावले गर्दा उनले माग पुरा गर्न भने सकेका छैनन् ।
उनले भने, हामी सधैँ अर्काको बजार बन्यौ । अव हामीले हाम्रो उत्पादन अर्काको बजारमा किन नपठाउने ? राम्रो सेवा, गुणस्तरीय उत्पादन र उचित मुल्य भए मात्रै उद्योगबाट उत्पादित वस्तुहरुले सजिलै बजार लिन सक्छन ।


समय सदुपयोगसँगै आम्दानी
कर्मचारीले आम्दानीको अतिरिक्त बाटो समात्नु पर्ने सोचमा रहेका उनी सरकारी काममा बाधा नपुग्ने गरी कृषि व्यवसाय गर्दा आम्दानीसँगै आत्मसन्तुष्टी हुने अनुभव सुनाउँछन् ।
उनको कृषि फार्म अवलोकन गर्न पुग्नेहरु भने दंग पर्ने गरेका छन् ।
सरकारले कर्मचारीलाई अतिरिक्त आम्दानीको लागि व्यवसायमा प्रेरित गरे भ्रष्टचार मौलाउन नपाउने पनि उनको दावी छ ।
असल सरकारी कर्मचारीसँगै असल किसानको समेत पहिचान बनाएका उनी जागिरको मात्रै भर नपरी आय आर्जनको वैकल्पिक उपाय अपनाउन अरु कर्मचारीलाई सल्लाह दिन्छन् ।


बहुउपयोगि फल
किवीलाई बहुउपयोगि फल मानिन्छ । किवि फलमा सुन्तलामा भन्दा बढी भिटामीन सी र केरामा भन्दा पनि बढी भिटामीन ई पाइन्छ ।
किविका विभिन्न ७६ प्रजाति छन । एक हजार २ सयदेखि माथिको उचाइमा यसको राम्रो खेति हुने गर्दछ ।
यसको फलको बजार मूल्य प्रतिकिलो २ सयदेखि ८ सय रूपैयाँसम्म पर्छ ।
किवीको माग बढन थालेपछि पछिल्लो समय दैलेखका साथै जाजरकोट, रूकुम, सल्यानका किसान व्यवसायिक किवी खेतीमा जुटन थालेको पाइन्छ ।
सरकारले कृषि पेशामा आवद्ध साना ठूला व्यवसायीलाई लक्षित गरि फार्मको संरक्षण र संवद्र्धन, बाटो, पानी, बत्ति, सिचाईं, भण्डारणका लागि चिस्यान घर, यातायातका साधनमा सहुलियत र बजारीकरणमा सहकार्यको वातावरण सृजना गरेका किसानले धेरै फाइदा लिन सक्ने देखिन्छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया