भेरी र बारेकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

माया पन्त
जाजरकोट
जाजरकोट जिल्लाको भेरी नगरपालिका र बारेकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।
राष्ट्रिय खोप तालिका अनुसार पालिका भित्रका सम्पूर्ण बालबालिकाले सबै मात्रा पूरा गरेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
पूर्णखोप सुनिश्चितता पालिका घोषणा गर्न राष्ट्रिय खोप तालिका अनुसार ९० प्रतिशत भन्दा बढि बालबालिकाले १२ प्रकारका खोप लगाइ सकेको हुनुपर्ने मापदण्ड रहेको छ ।
१२ प्रकारका खोप लगाइ सकेका बालबालिकाहरुको उमेर समुह १६ देखि २३ महिनासम्मका बालबालिकाहरुको उमेर समुहलाई गणनामा लिने गरिएको बारेकोट स्वास्थ्य शाखा संयोजक बीरराज सिंहले बताए ।


पूर्णखोप सुनिश्चितता पालिका घोषणा गर्नलाई सबै प्रकारका खोपहरु सबै बालबालिकाहरुले पाए नपाएको जानकारी लिनलाई स्वास्थ्य महिला स्वयंसेविकाहरुले गाउँ–टोलमा रहेका घरधुरीहरुको सर्वेक्षण गर्ने, वडा अध्यक्षको संयोजकत्वमा रहेको वडा स्तरीय खोप समन्वय समितिको बैठकले गरेको सिफारिमा गाउँ तथा नगर खोप समन्वय समितिले खटाएका स्वास्थ्यकर्मीले २५ प्रतिशत घरधुरीमा दादुरा रुवेलाको खोप पाए नपाएको सर्वेक्षण गरिने छ ।
यस्तै गाउँ तथा नगर खोप समन्वय समितिले गरेको सिफारिसमा स्वास्थ्य सेवा कार्यालयले पनि खोप सुनिश्तिता भए-नभएको सर्वेक्षण गर्ने, स्वास्थ्य सेवा कार्यालयले गरेको सिफारिसका आधारमा जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको जिल्ला स्तरीय खोप समन्वय समितिको बैठकको निर्णयले दिएको अनुमतिका आधारमा गाउँ तथा नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गर्न पाउने नीतिगत व्यवस्था गरिएको प्रमुख सिंहले बताए ।


नीतिगत व्यवस्थाको मापदण्ड अनुसार यस बर्ष जाजरकोट जिल्लाको भेरी नगरपालिका, बारेकोट गाउँपालिका र कुशे गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गर्न पाउने जिल्ला स्तरीय खोप समन्वय समितिले अनुमति दिएको छ ।
जिल्ला स्तरीय खोप समन्वय समितिले दिएको अनुमति अनुसार भेरी र बारेकोटले विशेष कार्यक्रमको आयोजना गरेर पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेका छन् भने, कुशे गाउँपालिकाले आगामी साउन, २ गते घोषणा गर्ने तयारी गरेको छ ।
भेरी नगरपालिकाका १३ वटै वडाका १६ देखि २३ महिनासम्मका ९९ प्रतिशत बालबालिकाहरुले १२ प्रकारका खोप पाईसकेको छन ।
त्यसैगरी बारेकोट गाउँपालिकामा १२ देखि २४ महिनासम्मका ४ सय ८१ जना बालबालिका रहेका छन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया