सुर्खेतको काँक्रेविहारमा वनभोज खान रोक

सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगर – ९ मा रहेको पुरातात्विक तथा ऐतिहासिक महत्वको काँक्रेविहारमा वनभोज खान रोक लगाइएको छ ।

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रहेको काँक्रविहार वन्यजन्तुको बासस्थान पनि हो । वनभोज खाने र रमाइलो गर्नेहरुको भीडले गर्दा वन्यजन्तु असुरक्षित भएको भन्दै वनभोज खान र रमाइलो गर्न रोक लगाइएको छ ।

संरक्षित क्षेत्रभित्र वनभोज खाने, रमाइलो गर्ने, होहल्ला गर्ने जस्ता मानवीय क्रियाकलापहरु बढेपछि वन्यजन्तु असुरक्षित भएको र यस्तो गर्न रोक लगाइएको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ ।

संरक्षित वन पनि रहेको काँक्रेविहारमा जरायो, खरायो, दुम्सी, स्याल लगायतका वन्यजन्तु पाइन्छन् ।

मानवीय क्रियाकलापले गर्दा असुरक्षित बनेका वन्यजन्तु भागेर अन्यत्र जान थालेपछि वनभोज र रमाइलो गर्न रोकिएको डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत वसन्तबाबु श्रेष्ठले बताए ।

वनभोज खाँदा हुने होहल्लाका कारण वन्यजन्तुको असुरक्षा बढ्ने, संरक्षित क्षेत्रमा फोहोर र दुर्गन्ध फैलिएकोले वनभोज खान तथा रमाइलो गर्न पूर्णरुपमा रोक लगाइएको उनले बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया