सुर्खेत
कर्णाली प्रदेशबाट प्रधानमन्त्रीको सम्भावित दावेदारको रुपमा हेरिएका काँग्रेसका उप सभापति पूर्णबहादुर खड्का फराकिलो मतान्तरसहित प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका छन् ।
वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार उनले नेकपा एमालेका धुब्रकुमार शाहीलाई ११,६१९ मतान्तरले पराजित गरेका छन् ।
पाँचदलीय गठबन्धनका संयोजक समेत रहेका खड्काले ४२,६०७ र निवर्तमान सासद शाहीले ३०,९८८ मत ल्याएका छन् ।
२०७४ सालमा भने खड्का उनै शाहीसँग ३३८२ मत अन्तरले पराजित भएका थिए ।
खड्काको सुर्खेत क्षेत्र नम्बर १ बाट यो पाँचौ जित हो । यसअघि उनी २०४८, २०५१, २०५६ सालमा प्रतिनिधी सभा सदस्य र २०७० सालमा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।
कर्णाली प्रदेशबाट पहिलोपटक कांग्रेस पदाधिकारीमा पुग्न सफल खड्का कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका निकट सहयोगी र अत्यन्त विस्वास पत्र मानिन्छन् ।
आफुले विश्राम लिने अवस्था सृजना भए प्रधानमन्त्री देउवाले पार्टी र मुलुकको बागडोर खड्कालाई सुम्पिन सक्ने धेरैको अनुमान छ ।
दुईपटक गृहमन्त्रीसहित बिभिन्न मन्त्रालयको जिम्मेवारी समालेका खड्काले पनि विभिन्न कार्यक्रममा अब मन्त्री नहुने घोषणा गरेका छन् ।
उनको उक्त घोषणालाई धेरैले प्रधानमन्त्रीको रुपमा आफुलाई अघि सारेको अर्थका रुपमा पनि बुझेका छन् ।
काँग्रेस नेताहरुहरु अनुसार बामलोकतान्त्रिक गठबन्धन निर्माणमा खड्काले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।
कर्णालीका हेवीवेट नेताहरु काँग्रेस उपसभापति खड्कासँगै माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्मा, समाजवादीका उपमहासचिव प्रकाश ज्वाला, माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेतलगायतका नेताहरु प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका छन् ।
यस्तै एमालेका स्थायी कमिटी सदस्य यामलाल कँडेल र काँग्रेस केन्द्रीय सदस्य राजीवबिक्रम शाह प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।
राराखबर । २०७९, ९ मंसिर शुक्रबार