सुर्खेत । प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
बुधबार साँझ सिंहदरबारस्थित समितिमा राखिएको सभापतिको निर्वाचनमा थापाको मात्र उम्मेदवारी परेको थियो । उनको उम्मेदवारीमा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल प्रस्तावक र एमाले सांसद दीपा शर्मा समर्थक रहेका थिए ।
अन्य कुनै पनि उम्मेदवारी नपरेकोले निर्विरोध निर्वाचित भएको समितिकी सचिव निर्मलादेवी लामिछानेले जानकारी दिइन् । समिति सभापति थापाले आजै सभामुख समक्ष पद तथा गोपनीयताको शपथ समेत लिइसकेका छन् ।
सभापतिमा निर्वाचित भएका थापाले शिक्षा क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ, शिक्षा र स्वास्थ्य क्षेत्रलाई कसरी सुधार ल्याउन सकिन्छ भन्ने कुरामा लागिपर्ने बताए ।
उनले आफू जुन क्षेत्रमा काम गर्ने हो त्यो क्षेत्रमा टाउको टेकेर काम गर्ने बताउँदै शिक्षा क्षेत्रलाई राजनीति मुक्त बनाउन लागिपर्ने बताए । यस्तै त्रिभुवन विश्वविद्यालयलाई सुधार गर्नका के गर्न सकिन्छ, शिक्षामा उपलब्धिमूलक काम गरेर मात्रै आफू बिदा हुने उल्लेख गरे ।
राराखबर । २०८०, ७ चैत्र बुधबार