‘’सपना त्यो होइन जो निदाएको बेला देखिन्छ, सपनात्यो हो जसले निदाउनदिदैन’भन्ने भनाई जस्तै भएको छ कर्णालीको सपना । कर्णालीले देखेको सपना साकार नभएरै कयौ कर्णालीबासीहरु अस्थाए । कर्णालीको सपना सम्बृद्धि र सुरक्षित जिन्दगी हो ।कर्णाली नेपालको यस्तो भुभागहो जहाँ हजारौ नदीनाला उपयोग विना नै विरत्तिएर बग्दछन । अमुल्य जडिबुटिहरु प्रशोधनको प्रतिक्षामा छन् । सुन्दर प्राकृतिक स्रोतहरु संरक्षणको खोजीमा छन् । कर्णालीको माटोले फलाउने भोकमरी र उकालोले दिने सास्ती घटेको छैन ।
कर्णालीमा बगेको पानीभन्दा बढी गैरसरकारी र सरकारी संस्थाको बजेट बगेको छ । सरकारी कर्मचारीहरु विकटता र राजनैतिक असमझदारीको चलचित्र देखाएर आर्थिक मनोरंजन लिन्छन र सरुवा भएपछि कर्णालीको धज्जी उडाउदै झुसिला डकार डर्काछन् । गैर सरकारी संस्थाहरु सफलताका कथा खोजेर दातृ संस्थालाई रिजाउछन र कर्णालीमा विकास भइ सकेको हल्लामात्रै फिंजाउछन् । कणालीबासी कर्मचारीहरुको सपना सुब्बा,शिक्षकको सपनाप्रावितह,राजनेताको सपना राज्यमन्त्री र युवा नेताहरुको सपना विभिन्न पार्टीकाचल्ला संगठनको केन्द्रित सदस्यमात्रै किन? । प्राकृतिक दृष्यको अनुपम भण्डार, भौगलिक जटिलताको केन्द्र, अभाव र अनिकालको उद्गम स्थलमात्रै हो या सम्बृद्ध नेपालको स्रोत हो कर्णाली ?
नेपालको औसत आयु ६९ बर्ष पुग्दा पनि कर्णालीको औषत आयु ४६ बर्ष मात्रै छ । नेपालका ७३ वटा जिल्लामा मोटर बाटोको रेखाले छोई सक्दापनि कर्णालीका २ जिल्ला कहिलेसम्म हवाइजहाजको बाटो हेरेर दिन काट्ने होलान । कलिला विद्यार्थीको राम्रो स्कुल पढ्ने सपना, परिश्रमी किसानको आफ्नै उत्पादनले पेट पाल्ने सपना, दक्ष नेताको शत्तिशाली मन्त्री बन्ने सपना, अधबैशे उमेरमै मृत्युको शिकार हुनु नपर्ने बिरामीको सपना, २१ औ शताब्दीमा पनि छुवाछुतको सांलोबाट उन्मुत्त हुने दलितको सपना कहिले पुरा हुन्छ ? बगेका नदी हेरेर प्यास मेटाउनु पर्ने बाध्यता, अर्को जिल्लाका गाढी हेरेर गह्रौ भारी बोक्दै हिड्नु पर्ने विवशताको अन्त्य नै कर्णालीको आधारभुत सपना हो ।
जन्मेको माटोले उब्जाएको यक्ष प्रश्नको उत्तर खोजेर कर्णालीबासी हैरान छन् । मुक्तिको मार्ग पहिल्याउन छानेका अगुवाहरु शहरको सम्बृद्धिमा विलीन हुदै जन्मेको माटोमा फर्केर नआउनु पनि बिडम्बना हो । कर्णालीको कान्लामा कमाएको सम्पति बोकेर बर्दिया र कैलालीका डुवान क्षेत्रमा बसाई सर्नु पर्ने अवस्थाको अन्त्य चहान्छन कर्णालीबासीहरु । सुन्दरता भएर पनि कुरुपताको पगरी बेरिनु, संम्भावना भएर पनि अभावकै जातोमा पिल्सिीरहनु कर्णालीको अर्को असन्तुष्टी हो ।
कर्णाली नेपालको सबभन्दा धैरै क्षेत्रफल भएको अंचल, सबैभन्दा लामो नदी भएको प्रदेश मात्र होईन बिश्वकै अग्लो ठाँउमा धान फल्ने जिउलो यहि छ । नेपालकै ठुलो र राम्रो ताल रारा, गहिरो ताल फोक्सुन्डो पनि यहि कर्णालीका उपहार हुन । यति हुदाहुदै पनि कर्णाली सम्बृद्धिको युगिन सपना देखिरहन्छ । विश्वमै नभएका पंचदेवल, ढुंगे धारा , मागल र झोडा संस्कृति पनि यही प्रदेशका सम्पति हुन । यी तमाम प्राकृतिक र सांस्कृतिक सम्पदाको उचित प्रर्बद्धन र विकासको बाटोमा गन्तब्य भेटाउने सपना साकार होस ।
जय कर्णाली ।
राराखबर । २०७३, २१ जेष्ठ शुक्रबार