कर्णालीमा तीन वर्षको अवधिमा आगलागीका घटनामा परी ४३ जनाको मृत्यु

सुर्खेत

तीन वर्षको अवधिमा कर्णालीमा ४ सय ५१ आगलागीका घटनामा परी ४३ जनाको मृत्यु भएको  छ भने ५१ जना घाइते भएका छन् । आगलागीबाट ५ सय २ घर नष्ट हुँदा सवा ५६ करोड रुपैयाँको क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

कार्यालयका अनुसार यस वर्ष मात्रै १ सय ४३ वटा आगलागीका घटनामा  परी १७ जनाले ज्यान गुमाइसकेका छन् भने ११ जना घाइते भएका छन् । झन्डै १२ करोडको क्षति भएको छ ।

पहाडी क्षेत्रका अधिकांश घर कच्ची र फुसको छानाका भएकाले आगो छिटो फैलिने समस्या रहेको प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले बताए ।  उनले भने, ‘घरमा हुने आगलागी धेरैजसो असावधानीका कारण हुने गरेको छ ।  ‘टुकी ननिभाई सुत्दा, भान्साको आगो ननिभाउँदा र विद्युत् सर्ट हुँदा पनि आगजनी हुने गरेको छन ।’

कर्णालीका हिमाली जिल्लामा अधिकांश घर काठका हुने र कोठाको उचाइ कम हुँदा पनि आगोले छिटो टिप्ने र फैलने गरेको उनको भनाई छ ।  अधिकांश स्थानीय तहमा बारुणयन्त्र नहुँदा, भौगोलिक विकटताका कारण घटनास्थलमा पुग्न ढिलाइ हुँदा, आगो निभाउने उपकरण र पानीको स्रोत नजिक नहुँदा पनि ठूलो क्षति हुने गरेको छ ।

च्याउ टिप्न गएका तीन बालकको डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा लागेको आगलागीमा परी निधन भएको छ । गत बिहीबार लागेको आगलागीमा परी शुक्रबार १० वर्षीय सुलस बुढाको डोल्पा जिल्ला सदरमुकाममा मृत्यु भएको थियो भने दुई जना १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको शनिबार दिउँसो काठमाडौंमा उपचारका क्रममा ज्यान गएको हो ।

च्याउ टिप्न गाउँ नजिकैको सामुदायिक वनमा गएका ती बालकहरु  वनमा आगो  निभाउन खोज्दा घाइते भएका थिए ।

डोल्पाको  ठूलीभेरी नगरपालिका–४ स्थित मष्टाभवानी सामुदायिक वनमा  गत सोमबार लागेको  डढेलो नियन्त्रणमा लिने क्रममा देवीदत्त गुल्मका  ३ जना सैनिकको ज्यान गएकाे छ ।

काभ्रे घर भएका ३८ वर्षीय जमदार केशवबहादुर जर्घा मगर र हुम्लाका २३ वर्षीय सिपाही आशिष बुढाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने सोमबार नै जुम्लाका २४ वर्षीय सिपाही हेमन्त रावतको पनि डोल्पा अस्पतालमा ज्यान गएको थियो ।

बुधबार राति पनि आगलागीका कारण हुम्लाको सर्केगाड गाउँपालिका–८ रादेउका ५५ वर्षीय हर्के ऐडीले ज्यान गुमाएका छन् । आगो फैलिएर गोठमा रहेका ६० वटा भेडासमेत मरेका थिए ।

कर्णालीमा एक साताको अवधिमा आगलागीमा परी ७ जनाको ज्यान गएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया