जुम्ला रारा अल्ट्रा म्याराथन २०८१ को उपाधि जुम्लाका धिरबहादुर र खाेटाङकी प्रियाेलाई

जुम्ला
जुम्ला रारा अल्ट्रा म्याराथन २०८१ को उपाधि पुरुषतर्फ जुम्ला कनकासुन्दरीका धिरबहादुर बुढा र महिलातर्फ खोटाङकी प्रिया राईले जितेका छन् ।
धिरबहादुरले जुम्ला सदरमुकाम खलंगादेखि रारातालसम्मको ४९ किलोमिटर दूरी ४ घण्टा ५७ मिनेट ३१ सेकेन्डमा पार गरेरका हुन् भने  प्रियाले ६ घण्टा ७ मिनेट ५७ सेकेन्डमा उक्त दूरी पार गरिन्।
पुरुषतर्फ जुम्लाकै दलबहादुर कुँवर र शेरबहादुर बुढाले क्रमशः दोस्रो र तेस्रो भए ।  दलबहादुरले ५ घण्टा १२ मिनेट ४० सेकेन्डको टाइमिङ निकाले भने शेरबहादुरले ५ घण्टा १८ मिनेट ३५ सेकेन्डमा उक्त दूरी पार गरेका थिए ।
महिलातर्फ भने जुम्लाकी राज्यलक्ष्मी रावलले ६ घण्टा १५ मिनेट ९ सेकेन्डमा पार गर्दै दोस्रो भइन् भने  तिला गाउॅपालिका जुम्लाकी अनिता बुढाले ६ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भइन् ।
म्याराथनमा प्रथम हुनेलाई १ लाख रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ दिइएको छ।
म्याराथनमा ४ विदेशी खेलाडीसहित ५४ जना थिए । कर्णाली स्पार्ट्से क्लब जुम्लाको आयोजना भएको जुम्ला रारा अल्ट्रा म्याराथन संघीय सरकारका युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गरेका थिए ।
म्याराथनमा सोलुखुम्बु,खोटाङ,रुकुम पूर्व, कालीकोट,मुगु,ओखलढुंगा,सिन्धुपाल्चोकका र जुम्लाका धावकले भाग लिएका थिए । जुम्लादेखि दौडिएका ५४ जना धावक मुगुको राराताल पुगेका थिए ।
जुम्ला खलंगाको बालमन्दिरदेखि सुरु भएको म्याराथन रारातालको छेउमा गएर टुंगिएको हो ।
म्याराथनमा सहभागी हुन सार्क राष्ट्रका धावकलाई १४ हजार ५ सय, अन्य राष्ट्रका धावकलाई १६ हजार, नेपाली धावकका लागि ७ हजार र स्थानीय धावकका लागि ५ हजार दर्ता शुल्क तोकिएको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया