
सुर्खेत । चौकुने गाउँपालिकाले कक्षा आठको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कुल ५ सय ५४ विद्यार्थी परीक्षामा सहभागी भएकोमा २ सय ६१ जना मात्रै उत्तीर्ण भएको शिक्षा शाखाले जनाएको छ । जुन कुल ४७ प्रतिशत मात्रै हुन आउँछ ।
फेल भएका मध्ये २ सय ९३ जना विद्यार्थी ग्रेड वृद्धि (पूरक) परीक्षा दिन पाउने वरिष्ठ शिक्षा शाखा अधिकृत टेकेन्द्र बहादुर बुढाले बताए । उनका अनुसार, गत वर्षको भन्दा यो वर्ष नतिजामा सुधार आएको र अझै सुधारका लागि सामूहिक प्रयास आवश्यक रहेको छ ।
आधारभूत तह कक्षा ८ को परीक्षा चैत ३ देखि १० चैतसम्म परीक्षा सञ्चालन भएको थियो । चौकुने गाउँपालिका स्तरीय परीक्षामा वडा नं ३ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय शोभानचौरले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । उक्त विद्यालयबाट कुल १४ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा सबै विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यस्तै चौकुने गाउँपालिका वडा नं ८ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय मोतिसेराले कुल २२ जना विद्यार्थी मध्ये २० जना उत्तीर्ण गराएको छ ।
गाउँपालिका स्तरीय उत्कृष्ट जिपिए ल्याउनेमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लगामकी छात्र चाँदनी कठायतले ३.७३ जिपिए ल्याएकी छन् भने मावि विजौराबाट सुबोधजंग शाहीले ३.७८ जिपिए ल्याएका छन् । चौकुने गापा वडा नं १० मा रहेको देवस्थान माध्यमिक विद्यालय निल भएको छ । देवस्थान माविमा कुल २३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
अहिले शिक्षकहरू आन्दोलनमा काठमाडौँ गएकाले ग्रेड वृद्धि परीक्षाको तालिका अझै सार्वजनिक गरिएको छैन । यस परिस्थितिलाई मध्यनजर राख्दै ग्रेड वृद्धि परीक्षाको तालिका चाँडै सार्वजनिक गरिने शिक्षा शाखाका अधिकृत बुढाले जानकारी दिएका छन् ।
कुन विद्यालयका कति विद्यार्थी पास भए ?


सन्तोष भण्डारी । २०८१, २८ चैत्र बिहीबार