सुर्खेत । कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा वैदेशिक रोजगारीमा जानेको ग्राफ बढ्दै गएको छ । पछिल्लो समय चर्को बेरोजगारी बढदै गएपछि युवाहरूमा वैदेशिक रोजगारमा जानेहरुकोे सङ्ख्या बढेको हो ।
चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा राहदानी र श्रमस्वीकृती लिनेहरूको सङ्ख्या समेत बढेको छ । यो आठ महिनाको अवधिमा ७ हजार १४७ जनाले राहदानी लिएका छन् भने १३ हजार ७८६ जनाले श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षको २०८०÷०८१ को तुलनामा १० हजार ७ सय ४९ जनाले राहदानी बनाएका छन् । त्यस्तै वैदेशिक रोजगारीमा जाने ५ हजार ३९४ जना श्रम स्वीकृति लिएर विदेश पलायन भएको विभागको तथ्याङ्कले देखाउँछ ।
विगतका तीन वर्षको तुलना गर्दा आर्थिक वर्ष २०७९÷०८० मा राहदानी बनाउनेको सङ्ख्या पनि बढी रहेको छ । २०७९÷०८० मा १३ हजार ७१३ जनाले राहदानी बनाएका थिए भने श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ६ हजार ४९५ रहेको छ ।
आर्थिक वर्ष २०७८÷०७९ मा सुर्खेतबाट ३ हजार १९७ जनाले राहदानी बनाएका थिए भने ४ हजार २३८ जना वैदेशिक रोजगारीका लागि विदेश पलायन भएको देखिन्छ । विगत तीन वर्षको तथ्याङ्कलाई हेर्दा सुर्खेतका युवाहरू वैदेशिक रोजगारमा जानेको सङ्ख्या तीव्र रूपमा बढी रहेको छ ।
उता श्रम रोजगार विभाग सुर्खेतका श्रम अधिकृत श्री शमशेर राना मगर भने अहिले वैदेशिक रोजगारीमा पहिले जस्तो भिडभाड नभएको दाबी गर्छन् । ‘दैनिक चारदेखि पाँच जना मात्रै श्रम स्वीकृति नवीकरण गर्ने आउँछन्,’ उनले भने । दिनमा दश जनाको श्रम स्वीकृति नवीकरण गर्ने नियम भए पनि त्यस्तो चाप भने छैन । उनका अनुसार पहिले तुलनामा अहिले कामदारको चाप घटेको छ ।
विगतका तिन वर्षमा राहदानी बनाउनेको सङ्ख्या मात्रैै बढेको छैन । वैदेशिक रोजगारीमा जानेहरू पनि उत्तिकै बढेका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिकमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारी गएका ५ हजार ३९४ जना मध्य ४ हजार ९६७ जना पुरुष र ४२७ जना महिला रहेका छन् ।
२०७९÷०८० मा वैदेशिक रोजगारीका श्रम स्वीकृति लिएका ६ हजार ४९५ जना मध्य ६ हजार १०३ पुरुष र ३९२ जना महिला रहेको छन् । विगत तीन वर्षको तुलनामा ०७८÷०७९ मा सुर्खेतबाट सबैभन्दा कम वैदेशिक रोजगारीमा गएका छन् । उक्त आर्थिक वर्षमा कुल ४ हजार २३८ मध्य २ हजार ७६८ पुरुष र १ हजार ४७० जना महिला रहेको छन् ।
वैदेशिक रोजगार विभागका अनुसार अहिले नेपालबाट विदेश जाने प्राय विद्यार्थीहरू रहेको जनाएको छ । कक्षा १२ उत्तीर्ण भएपछि ‘नेपालमा केही छैन’ भन्ने मानसिकता बनाएर विदेश गइरहेको छन् । श्रमिक भिसामा भन्दा पनि विद्यार्थी भिसामा जानेको सङ्ख्या धेरै रहेको वैदेशिक रोजगार विभागको ठहर छ ।
स्नातक तह पास गरे पनि देशमा रोजगारी नपाएपछि विद्यार्थी भिसामा जापान जान लागेको मध्यपश्चिम विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत धमेन्द्र थापा बताउँछन् । ‘अहिले जापनिज भाषा पढिरहेको छु’ उनले भने, ‘देशमा जतिसुकै पढे पनि । जस्तो सुकै अनुभव भए पनि भनेजस्तो जागिर पाइँदैन । त्यसैले जापान जान बाध्य भए ।’
त्यस्तै सुर्खेत बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययनरत टिकाराम बडुवाल पनि देशमा रोजगारीको अवसर नहुँदा बिदेसिन बाध्य भएको बताए । ‘गाउँ ठाउँमा रोजगारी छैन । भने जस्तो आम्दानी पनि हुँदैन । अनि विदेश नगएर के गर्नु,’ उनले भने ‘म कोरियन भाषा पढ्दै छु । यो मे।रो बाध्यता हो ।’
आफ्ना सबै साथीहरू पनि बिदेसिएकाले आफ्नो विदेश मोह बढेको उनको भनाई छ । पछिलो समय नेपालमा शैक्षिक योग्यता अनुसारको रोजगारी नपाइने भएकाले युवा जनशक्ति विदेशिन बाध्य भएको देखिन्छ । युवाहरूमा जोस जाँगर भए पनि विदेशभुमिमा काम गर्ने बाध्य भएको उनीहरू बताउँछन् ।
सन्तोष भण्डारी । २०८१, २८ चैत्र बिहीबार