सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा बुधवार बिहान छापा मारेको छ ।टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयमा परेको उजुरीका आधारमा सुर्खेतबाट खटिएको टोलीले समितिको कार्यालयमा छापा मारेको हो ।
समितिका लेखापाल खड्कबहादुर रानामाथि करिब तीन करोड रुपैयाँ बराबरको राजस्व हिनामिना गरेको आरोप लागेको छ । सोही उजुरीका आधारमा अहिले अख्तियारले नगदी रसिदहरूसहित अन्य कागजातहरू नियन्त्रणमा लिइरहेको छ ।
अख्तियारको टोली उपत्यका नगर विकास समितिको कार्यालयमा छानबिन गरिरहेको छ । अख्तियार सुर्खेतका सूचना अधिकारी धर्मराज खत्रीले यो अप्रेसन गोप्य भएको जानकारी दिँदै हाल कुनै विवरण सार्वजनिक गर्न नमिल्ने बताएका छन् । “यो गोप्य अप्रेसन हो। यसबारे म तपाईँलाई कुनै पनि जानकारी दिन सक्दिन,” खत्रीले भने।
अख्तियारका अनुसार हाल अनुसन्धान प्रक्रिया जारी छ र आवश्यक प्रमाण सङ्कलनपछि कानुन अनुसार कारबाही अघि बढाइने अख्तियारले जनाएको छ ।
राराखबर । २०८१, २७ चैत्र बुधबार