सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुर्खेत जिल्ला कमिटीले यही चैत २६ गते वीरेन्द्रनगरमा वृहत जनप्रदर्शनसहित जागरणसभा आयोजना गर्ने भएको छ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, स्थायित्व र जनअधिकारको सुदृढीकरणका लागि देशभर जागरण अभियान सञ्चालन गरिरहेको एमालेले गणतन्त्र, संविधान र जनताको अधिकारमाथि भइरहेको प्रतिगामी षड्यन्त्रविरुद्ध जनजागरण गर्न कार्यक्रम ल्याएको जनाएको छ।
कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेल, प्रदेश इञ्चार्ज गोरख बोगटीलगायतका नेताहरूको विशेष सम्बोधन रहने जनाइएको छ।
जिल्ला कमिटी सुर्खेतको आयोजनामा र कर्णाली प्रदेश कमिटीको संयोजनमा हुन लागेको उक्त कार्यक्रममा हजारौं जनसमुदायको सहभागिता रहने अपेक्षा गरिएको छ।
एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले जागरणसभामा सहभागिता जनाउन अपिल गरेका छन् ।
राराखबर । २०८१, २४ चैत्र आईतवार