जाजरकोट ५, चैत – परीक्षा समन्वय समिति लगायत सरोकारवालाले आगामी १० गतेबाट संचालन हुने माध्यमिक शिक्षा परीक्षालाई चिटमुक्त बनाउन निर्देशन गरेका छन् । मंगलवार केन्द्राध्यक्षहरुको अभिमुखीकरण कार्यक्रममा सरोकारवालाले यस्तो निर्देशन गरेका हुन् ।
परीक्षा समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत, जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल, शिक्षा विकास समन्वय इकाई प्रमुख सुधिनराज वुढाथोकी, अन्य सुरक्षा अधिकारी लगायतले उक्त परीक्षालाई मर्यादित तथा चिटमुक्त बनाउन सम्बन्धित केन्द्राध्यक्षहरुलाई निर्देशन दिएका छन् । माध्यमिक शिक्षा परीक्षालाई विगत भन्दा मर्यादित र विश्वसनिय बनाउने मुख्य दायित्व केन्द्राध्यक्षको भएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए । स्थानीय सरकारले परीक्षा केन्द्रका साथै विद्यार्थीहरुको वसाई व्यवस्थापनमा सहयोग गर्नुपर्ने उनले बताए ।
केन्द्राध्यक्षहरुले सुरक्षाको व्यवस्थाको चिन्ता नगरी ढुक्क साथ परीक्षा संचालन गर्न निर्देशन दिएको उनले बताए । समुन्वय समितिले परीक्षालाई मर्यादित बनाउन विभिन्न संयन्त्रको प्रयोग गनै लागेको प्रजिअ बस्नेतले बताए । परीक्षालाई स्थानीय तहका वडाअध्यक्षले अनुगमन गर्न नपाउने निर्णय भएको उनले बताए । परीक्षा केन्द्र रहेको विद्यालयमा घेराबार लगायत भौतिक पूर्वाधार अभावले परीक्षा मर्यादित तथा चिटमुक्त बनाउन चुनौती भएको केन्द्राध्यक्ष दिनेश कुमार सिंहले बताए । घेराबार नहु“दा जो पायो त्यही व्यक्ति सजिलासंग केन्द्र भित्र प्रवेश गर्न सक्ने समस्या आउने गरेको उनले बताए । शिक्षा विकास समन्वय इकाईले जिल्लाका १९ वटा माध्यमिक शिक्षा परीक्षा केन्द्रका लागि केन्द्राध्यक्षहरुको नियुक्ति गरी अभिमुखीकरण समेत गरेको छ । कान्तिपुरबाट
राराखबर । २०७५, ५ चैत्र मंगलवार