आकाश तारा बयक
सुर्खेत, १३ पुस ।
मुलुककै सबै भन्दा ठूलो मानिएको पश्चिम सुर्खेतको गुटु स्थित चौकुने सिमेन्ट उद्योगको पूर्वाधारको काम माघदेखि शुरु हुने भएको छ । औद्योगिक विकासका लागि आधार मानिएको उद्योगका लागि खानीसम्म पुग्ने पहुँच मार्गको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ३६ वर्ष अघि सम्भाव्यता अध्ययन शुरु भएपनि यसै वर्षदेखि उद्योगले सडक निर्माण कार्य तीव्रगतिमा शुरु गरेपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । ठेकेदार कम्पनीले उद्योग निर्माणका लागि सडक निर्माणको काम शुरु गरेपछि गाउँका केही युवाले रोजगारी पाएका छन् । ‘उद्योग सञ्चालन भए विकासले गाउँको मुहार फेरिन्छ गुटु–८, का प्रकाश बयकले भने, ‘अहिले पूर्वाधारको काम शुरु भएसँगै म जस्ता बेरोजगार युवालाई रोजगारी मिल्नेमा विश्वस्त छौं ।’ गाउँका केही युवा वैदेशिक रोजगारीलाई त्यागेर उद्योगमा काम गर्न थालेका छन् । गाउँमै निर्माण हुन लागेको उद्योगमा काम गरी घरखर्च जुटाउन पाउँदा आफूलाई सन्तुष्टी मिलेको दिपक बयकको भनाइ छ । उद्योगका लागि आवश्यक पर्ने जनशक्ति स्थानीयस्तरमै उपलब्ध भएकाले रोजगारीसँगै लगानीको समेत अवसर खुलेको स्थानीय बासिन्दा बताउँछन् ।
उद्योग सञ्चालनका लागि लाइसेन्स लिएको निर्माण कम्पनी मुक्ति श्री प्रालिले लाईसेन्स लिएको सात वर्षपछि सडक निर्माण कार्य शुरु गरेको छ । उद्योगले पहिलो चरणमा गुटु–४, को भाप्र खोलादेखि कुँवासम्मको करिब पाँच किलोमिटर खानी स्थलसम्मको पुहँच सडक निर्माण कार्य अन्तिम चरणमा पु¥याएको प्रोजेक्ट को–अर्डिनेटर लोकबहादुर अधिकारीले बताए । उनले माघको पहिलो सातादेखि खानी उत्खनन्का लागि पूर्वाधार तयारीको काम शुरु गरिने जानकारी दिए । उनका अनुसार उद्योग सञ्चालनमा आएमा सुर्खेतको मात्र नभई समग्र मध्यपश्चिम क्षेत्रकै आर्थिक विकासमा टेवा पुग्ने छ ।
‘कम्पनीले खानी उत्खनन स्थलसम्म सडक पु¥याएसँगै अब जग्गा अधिग्रहणको काम शुरु हुनेछ,’ उनले भने, ‘यसका लागि स्थानीय बासिन्दासँग छलफलपछि केही दिन मै स्काईभेटर, डोजरलगायतका मेसिनरी समान राख्नका लागि जग्गा खरिदको प्रक्रिया शुरु हुन्छ ।’ उनले मुआव्जा, वातावरणिय अध्ययन तथा उद्योग स्थापनाको कार्य एकै साथ शुरु हुने जनाए । उनका अनुसार सरकारले जतिछिटो सडक र विद्युतको पहुँच पु¥याउँछ त्यति नै चाडो उद्योग सञ्चालनमा आउँछ ।
यता उद्योग सञ्चालनका लागि आवश्यक सडक, बत्ती र सुरक्षाको व्यवस्था पुरा गर्ने जिम्माको सम्झौता सरकारले उद्योग सञ्चालकसँग गरेको थियो । तर, आफैले गरेको सम्झौंता सरकारले पुरा गर्न नसक्दा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन नभई ठेकेदार कम्पनीले लाईसेन्स नविकरण गर्ने नौटंकी गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही बताउँछन् । उनले ठेकेदार कम्पनीद्वारा जिल्ला विकास समितिले बनाईसकेको सडककै स्तरोन्नती गर्नुलाई उद्योग सञ्चालन गर्ने प्रयोजन भन्दापनि लाईसेन्स नविकरण गर्ने पाटोको रुपमा बुझिएको जिकिर गरे ।
खानी विभागले २०३५ सालदेखि २०३९ सालसम्म चौकुने र बड्डिचौरसंगैको लखरपाटामा ड्रिलिङ गरी ढुंगा परीक्षण गरेको थियो । करिव ३०० फिट गहिराईसम्म ड्रिलिङ्ग गरी ढुंगा परीक्षण गरिएको थियो भने ७ वटा पिलरसमेत निर्माण गरिएका छन् । करिब ४ अर्ब रुपैयाँको लागत लाग्ने अनुमान गरिएको सिमेन्ट उद्योग सञ्चालन भएमा दैनिक २ हजार मेट्रिकटन सिमेन्ट उत्पादन हुने र पाँच हजार जनाले रोजगार पाउनेछन् । सिमेन्ट उद्योगको क्षेत्रफल ४ वर्ग किलोमिटर भएपनि हाललाई करिब ४ सय रोपनी जग्गा स्थानीय चलन चल्ती वा मालपोत कार्यालयले तोकेको दरमा खरिद गर्ने कम्पनीको योजना रहेको छ ।
राराखबर । २०७३, १३ पुष बुधबार