संकट र सेवा

कर्णाली उत्सवको पाँचौं संस्करणको दोस्रो सत्र हो, संकट र सेवा । नेपालमा विभिन्न समयमा आउने संकटहरू खासगरी विपद्हरूमा एकले र अर्कालाई सहयोग गर्ने र सबै मिलेर विपद्सँग जुधिरहेका हुन्छन् । यसै सन्दर्भमा रहेर नेपालीहरूले संकटको समयमा कसरी मिलेर एकले अर्कालाई सहयोग गर्छन्, यसको लागि के कुराले उत्प्रेरित गर्छ र संकटको समयमा सहयोगी भावना किन आवश्यक छ भनेर छलफल गरिएको थियो ।

छलफलमा भूकम्प प्रभावित क्षेत्र जाजरकोटको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्ती, समाजसेवी तथा गायिका आनी छोइङ् डोल्मा र कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का सहभागी थिए भने पत्रकार प्रकाश पन्तले सत्रको सहजीकरण गरेका थिए ।


‘सेवा नै आनन्दको स्रोत हो’

आनी छोइङ् डोल्मा

जाजरकोटमा एउटा सानो नानीलाई भेट्दाखेरी मलाई आफ्नो बाल्यकाल सम्झना आएको प्रसंग छ । उसको खुट्टामा चप्पल पनि चुँडेर डोरीले बाँधेको थियो । म पनि उसकै उमेरमा हुँदा जुत्ता लाउन पाएको थिइनँ । हिउँदमा चिसोले छाला एकदमै फाटेर रगत आएको मलाई सम्झना छ र मैले त्यसरी भेटेको नानीलाई नयाँ जुत्ता दिन पाउँदा आफूले आफैलाई दिएको जस्तो आनन्द लागेको थियो ।

दुर्घटना या आपत्–विपत् जहाँ पनि जसलाई पनि आइपर्छ र यस्ता कुरा हामी कसैले नचाहेको अनुभव हो भन्ने कुरा वुझ्न आवश्यक छ । अरुलाई आउने विपत् आफूलाई आउँदा कस्तो होला भन्ने मलाई लागिरहेको हुन्छ । त्यसैले मैले मेरो धर्म, कर्म, कर्तव्य ठानेर विभिन्न ठाउँमा यस्तो मानवीय सेवा गरिरहेको छु । मैले अरुलाई सेवा गर्दा उनीहरूमा म आफैलाई पाउँछु । मेरा आफन्त पाउँछु ।

हाम्रा सरकारहरूले विपद्को व्यवस्थापन गर्न प्रयास गरेपनि सहज ढंगले राहत व्यवस्थापनका कामहरू हुन सकेका छैनन् । जतिबेला मानिसलाई सहयोग आवश्यक पर्छ, त्यतिनै बेला उसलाई मेरो कोही न कोही छ नत्र सरकार त छ भन्ने अनुभूति हुन जरुरी छ । हामीले विपद्का बेला यस्तो अनुभूति दिन सकेका छैनौँ । या त समय घर्केपछि सहयोग गर्छौं । सरकार यहीँनिर चुकेको छ ।

सरकारी काममा ढिलासुस्ती हुनुमा कर्मचारीको मात्रै कमजोरी छैन । त्यसमा हाम्रो नियम कानुन र प्रक्रियाका कारण पनि ढिलासुस्ती भएको छ । हामीले पहिलाको भूकम्पबाट पनि पाठ सिक्न नसक्नु चाहीँ जिम्मेवार नहुनु जस्तो देखिन्छ । हामीले कोभिड महामारीबाट पनि धेरै कुरा सिक्न सकेनौँ ।

सरकार बाहेकको हकमा भने विपद्का बेला सहयोग गर्न चाहने सबैका लागि यो असाधारण मौका हो । यस्तो बेला जहाँका मान्छेले पनि आफ्नो क्षमता र स्रोतले भ्याएसम्म सहयोग गर्न सक्छन् । हुनपनि धेरै ठाउँबाट सहयोग लिएर मानिसहरू जाजरकोटसम्म आएका छन् । यस्तोबेला म छु है भनेर साथ दिनु भनेकै धेरै ठूलो कुरा हो ।

यस्तो संकटमा तुरुन्तै घर बनाउन नसके पनि खाना, लुगा, सानो बस्न लायक त्रिपालको छहारी र विशेष गरी साहानुभूति लिएर जानु नै ठूलो कुरा हो । त्यतिले पनि धेरै राहत मिल्छ जस्तो लाग्छ । र त्यस बाहेकका मुख्य काम गर्ने भनेको विभिन्न तहका सरकारहरूले नै हो । यद्यपि, यस्ता काम छिटोभन्दा छिटो हुनु जरुरी छ ।

हामी नेपाली धेरै सन्तोषी छौँ जस्तो मलाई लाग्छ । किनभने हामीले ठूल्ठूला घर खोजिरहेका छैनौँ । आधारभूत आवश्यकताका चिजहरू खोजेको हो । यति साना कुरामा खुसी बनाउन सक्यौँ भने सरकारको पनि सार्थकता देखिन्छ । ठूला कुराको आश्वासन भन्दा पनि साना कुरामा सहयोग जरुरी छ ।

विपद्को सबैभन्दा सुन्दर पक्ष भनेको सबैको मन मस्तिष्कमा करुणा जगाई दिन्छ । यसले सबैलाई सिर्जनशील र कर्मशील पनि बनाउँछ । सेवाले मानिसको जीवनलाई सार्थक तुल्याउँछ । र विपद्का बेला सबैलाई सेवा गर्ने मौका मिल्छ ।

आनी हुँदैमा मागेरै हिँड्नुपर्छ भन्ने हुँदैन । आफ्नो सहजताका लागि काम गर्ने हो । अरुको पनि भलो चिताउने हो । र त्यो चिताएको कुरा इमान्दारीका साथ लागू गर्ने कोशिष गर्ने हो । सेवा नै आनन्दको स्रोत हो । सबैलाई सेवाको लत लागोस् ।


‘सेवा भाव नै सबैभन्दा महत्वपूर्ण कुरा हो’

डा. डम्बर खड्का

मैले मेरो जीवनका धेरै समय कर्णालीमै बसेर सेवा गरेँ । म २०३९ सालमा स्वास्थ्य सेवा प्रवेश गरेको हुँ । अहिले ठ्याक्कै ४० वर्ष भयो । जागीर सुरु गर्दा दुई हजार पाँच सय रूपैयाँ तलब थियो । यसले काठमाडौंमा एक जनाको खर्च चल्थ्यो ।

२०४५ सालमा जाजरकोटको राचुली हेल्थपोष्टमा काम गरेँ । त्यतिबेलाको एउटा अनुभव सुनाउँछु ।

गाउँमा एक जना महिला सुत्केरी हुन नसकेपछि एक जना दाई मलाई बोलाउन आउनु भयो । म गएँ । बाटो अहिलेको जस्तो थिएन । हिँड्न नजाने खोलामा खस्ने डर थियो । रातीको ९ बजेको थियो । ती महिलालाई गोठमा राखिएको रहेछ । मैले तीन घण्टा लगाएर ती महिलालाई सुत्केरी गराएँ । भोलिपल्ट गाउँमा फलानो डाक्टरले अपरेसन गरेर आमा र बच्चालाई बचाए भन्ने हल्ला चल्यो । त्यतिखेर म हेल्थ असिस्टेन्ट थिएँ । मैले ती महिलाको अपरेसन गरेको थिइनँ । तर बच्चा भने जन्मिएको थियो । गाउँलेका कुराले हेल्थपोष्टमा मान्छे बढ्दै जान थाले । राम्रो काम ग¥यो भने जहाँ पनि काम गर्न सहज छ भन्ने लाग्छ । हाम्रोमा राम्रो काम गर्ने मान्छेको अभाव हो जस्तो लाग्दैन । चर्चा नराम्रोको धेरै हुन्छ । त्यसैले सबै कुरा नकारात्मकजस्तो देखिन्छ ।

विपत् भनेको जहिले पनि र जसरी पनि आउन सक्छ । त्यसका लागि हामी अस्पतालका कर्मचारी र डाक्टरहरू एकदमै तम्तयार अवस्थामा बस्नुपर्ने हुन्छ । कोरोनाकालमा कर्णाली प्रदेश अस्पतालले नियमित र अभूतपूर्व सेवा दियो । भौतिक संरचनाले पनि हामीलाई साथ दियो । कर्णाली प्रदेश अस्पतालमा जस्तो सुविधा सायदै अन्त थियो । अहिले भूकम्पको बेलामा पनि हामी सेवा नियमित गरेका छौँ ।

कोरोनाको बेला धेरै त्रास थियो । हामी स्वास्थ्यकर्मीहरू पनि डराएका थियौँ । विडम्बना कोरोनाका कारण मृत्यु हुने नेपालकै पहिलो चिकित्सक डा. हरि सापकोटा हुनुहुन्छ । उहाँ हाम्रै सहकर्मी हुनुहुन्थ्यो । हामी धेरै स्वास्थ्यकर्मीलाई पनि कोरोना पोजिटिभ भयो । मलाई त झनै त्यही सयममा टिबी पनि भयो । त्यस्तो बेला म घरमै आइसोलेसनमा बसेर औषधि खानुपथ्र्यो । तर म दुई महिना घरमै बस्ने हो भने त महामारीमा बिचल्ली हुन्छ भन्ने ठानेर काठमाडौंबाट औषधि मगाएर खाएँ । मैले यो कुरा मेरो परिवारलाई पनि भनेको थिइनँ ।

भूकम्पका बेला पनि कर्णाली प्रदेश अस्पताल र नेपाली सेनाको टिम जाजरकोट पुगेको थियो । यहाँका डाक्टरहरूले जाजरकोट अस्पतालमा पुगेर पनि सेवा दिनुभयो । त्यसपछि मात्रै अन्यत्रबाट चिकित्सक आउन थाल्नुभयो ।

यही संकटकै बेला मेरो श्रीमतीको मृत्यु भयो । तरपनि मैले सधैं अस्पतालको चिन्ता गरेँ । विरामीको चिन्ता गरेँ । अहिले कर्णाली प्रदेश अस्पतालमा ५० बेड इमर्जेन्सी व्यवस्थापन गर्ने क्षमता छ । हामीले विकसित देशको जस्तो गर्न नसकौंला तर सबैले आआफ्नो ठाउँबाट पहल गर्न सक्यौं भने संकटको सामना गर्न सकिन्छ । यसका लागि सेवा भाव नै सबैभन्दा महŒवपूर्ण कुरा हो ।

भूकम्प मात्रैले भन्दा पनि त्यसपछिको अवस्थामा समेत मानिसको मृत्यु भएको छ । कति जाडोले मरेका छन् भने कति सुत्केरी हुन नसकेर मरेका छन् । हामीले भूकम्प पीडितको उद्धार र राहतमा मात्रै ध्यान दिँदा अन्य कुरा बिर्सिएका छौँ । हुन त मृत्यु रोक्न सकिँदैन तर त्यसो भन्दैमा बचाउने कोशिष पनि छाड्नु हुँदैन ।

मैले १० कक्षा पास गरेदेखि जागीर खाँदै पढ्दै गरेको हो । एक पैसा पनि घरबाट खर्च भएन । म नियमित व्यायाम गर्छु । मनको पनि एकदमै सफा छु र स्वास्थ्य पनि छु । कामप्रति एकदमै इमान्दार छु । इमर्जेन्सी प¥यो भनेर बोलाए राती १२ बजेपनि अस्पताल पुग्छु । यस अस्पतालमा पहिला म एक जना मात्रै डाक्टर थिएँ अहिले ८१ जना हुनुहुन्छ ।

कर्णाली प्रदेश अस्पताल सुविधा सम्पन्न भएपनि जिल्ला अस्पताल र हेल्थ पोष्टहरूमा सुविधा कम छ । दक्ष स्वास्थ्यकर्मी र उपकरणको अभाव अझै छ । संकटका बेला स्थानीयस्तरमा हुने स्वास्थ्य संस्थाले धेरै योगदान गर्न सक्छन् । तिनको क्षमता बढाउनेतिर लाग्नुपर्छ । सक्षम स्वास्थ्यकर्मी र स्वास्थ्यसंस्था स्थानीयस्तरमा उपलब्ध हुनुपर्छ ।


‘विपद्सँग जुध्न प्रभावकारी संयन्त्र चाहिन्छ’

चन्द्र प्रकाश घर्ती

समृद्ध कर्णालीका लागि हामीले धेरै संघर्ष गरेका छौँ । काठमाडौं र अन्य विकसित नगरसँग तुलना गरेर मात्र हुँदैन । हाम्रा राम्रा कामको प्रचार पनि हुन सकेको छैन ।

म आफै भूकम्प पीडित पनि हुँ । तर त्यसको व्यवस्थापन गर्ने नेतृत्व पनि हुँ । भूकम्प गएको केही समयमै म सम्हालिएर काममा खटिएँ । भूकम्पका कारण भेरी नगरपालिकामा ४६ जनाको मृत्यु भएको थियो । नलगाड नगरपालिकाको उपप्रमुखको पनि भेरी नगरपालिकामै मृत्यु भएको हो । उहाँलाई हतार हतार अस्पताल पु¥यायौँ तर बचाउन सकिएन । पछि उहाँको लाश घर पु¥यायौँ । अरुलाई पनि उद्धर र उपचार गर्यौं । त्यो निकै हृदयबिदारक थियो ।

हामीले सबै सरोकारवालाहरूलाई समेटेर कार्यक्रम गर्यौं । टोल विकास संस्थालगायत बाल क्लब तथा युवा सञ्जाललाई परिचालन गर्यौं । मेरो पहिलो कार्यकालमा कोरोना महामारी भयो । त्यसबेला हामीले विपद्सँग कसरी जुध्ने भन्ने केही रणनीति निर्माण गरेका थियौँ । त्यसले अहिलेको भूकम्पका बेला काम ग¥यो ।

२४ घण्टाभित्रै हामीले खोजी र उद्धारका काम सम्पन्न गर्यौं । संघीयताकै कारण स्थानीय सरकारहरू सकृय रहेको कुरा साँचो हो । राहतको कुरा स्थानीय सरकारको मात्रै बसमा थिएन । राहत कार्यमा तीनै तहका सरकार गैरसरकारी संस्था, विदेशी दातृ निकाय तथा सबै मनकारी व्यक्तिले सहयोग गरेका छन् । यसले गर्दा विपद्को बेला हामी एक्लै हुन्नौँ भन्ने पनि पुष्टि भएको छ । तर हामी धेरैजसो नकारात्मक भावनाबाट प्रभावित हुन्छौँ ।

हामीले स्थानीय विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाएर राहतका कामलाई व्यवस्थित बनायौँ । देखावटी सहयोग गर्न आउनेलाई निरुत्साहित गर्यौं । निषेध पनि गर्यौं । मुख्य समस्या भनेको तीनै तहका सरकारबीच समन्वय हुन नसक्नु हो । यस्तो बेला स्थानीय सरकारलाई बढीभन्दा बढी अधिकार दिनुपर्छ भन्ने लाग्छ । आपत्का बेला भिआइपी हेलिकोप्टरमा आउनु पनि अर्को आतँक हो ।

विपद् प्रतिरोधी कर्णाली निर्माण गर्नु हाम्रो मुख्य जिम्मेवारी हो । विपद् भन्नाले भूकम्प मात्रै हैन, बाढी पहिरो लगायत अन्य विपद् पनि हामीलाई थाहै नदिइ आउँछन् । यी सबैको सामना गर्न हामीले प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्छ । मैले यस्तो पनि अनुभव गरेँ कि मान्छेका हजार सपना दश सेकेन्डमा कोल्याप्स भए ।
राहत लिनेमा आवश्यकता भन्दा बढी लोभ पनि देखियो । मैले पाएँ उसले पाएको छैन कसैले पनि भन्दैन । हाम्रो मानवता कहाँ गयो । हाम्रो जिम्मेवारी कहाँ गयो । दिनेले पनि सस्तो भएर दिएको हुँदैन । सेवा भावनाले दिएको हुन्छ । यस हिसाबले पनि कर्णाली विपद व्यवस्थापनका हिसाबले कमजोर छ । कर्णाली उत्सवबाट




फेसबुकबाट तपाईको प्रतिक्रिया