सुर्खेत । साउदी अरेबियाका लागि प्रस्तावित राजदूत नरेशविक्रम ढकालले साउदीमा नेपाली कामदारहरूको समस्याको चाङ रहेको बताएका छन्।
बुधबार संघीय संसदको सनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले कामदार र दूतावासका छुट्टाछुट्टै समस्याका फेहरिस्त बुझाएका हुन्।
‘करिब ४ लाख २० हजार नेपाली श्रमिक कार्यरत रहेका कारणले साउदी अरेबियामा मुख्य समस्या नै सोही अनुसार हुनु स्वभाविक हो,’ ढकालले भने, ‘तर अन्य समस्याहरू पनि रहेको बुझिएको छ।’
उनले श्रमिक केन्द्रित भनेर औंल्याएका समस्यामा स्थानीय बजार मूल्य अनुसार न्यूनतम ज्याला दर लामो समयदेखि पुनरवलोकन नहुनु, स्थानीय कानुनको पालना गर्न नसक्नु र लापरबाही गर्नु, स्वास्थ्य पूर्वसावधानी नअपनाउनु, स्थानीय कानुनी जटिलताका कारणले शव नेपाल पठाउन कठिन हुनुलाई मानेका छन्।
यस्तै गैरकानुनी तरिकाले नेपालबाट पुग्नु र पुर्याइनु, नेपालबाट जानुपूर्व सम्बन्धित कम्पनी, कामको विवरण, सेवा, सर्त र सुविधाजस्ता विषयमा जानकारी नलिनु र पुगेपछि तत्कालै गुनासामात्रै देखाउन थाल्नु र विदेशमा समस्या पर्दा कहाँ, कसरी, कोसँग सम्पर्क गर्ने र सहयोग लिने भन्ने पूर्व जानकारी नहुँदा ठगीको फन्दामा परेर झन कठीन परिस्थिति सृजना हुनुलाई पनि श्रमिक केन्द्रित समस्याका रूपमा प्रस्तुत गरेका छन्।
उनले प्रस्तुत गरेका थप समस्यामा अत्यधीक गर्मीका कारण हुने मानसिक र शारीरिक समस्या, अरबी र अंग्रेजी भाषिक सीपको कमीका कारणले हुने असुविधाहरू, विश्वव्यापी आर्थिक मन्दीका कारण साउदीमा समेत पारिश्रमिक नपाउने, सम्झौताअनुसारको काम र सुविधा नदिइनु र स्वदेश फिर्ता हुन चाहनेका लागि समेत कानुनी जटिलताका कारण कठिन हुनु र माग अनुसार राहदानी नविकरण नहनु रहेका छन्।
ढकालले आफ्नो कार्ययोजनामा नेपालबाट प्रवासमा काम गर्न जाने र पठाउने दुवै पक्षले जानुपूर्व आवश्यक भाषिक सीप, आधारभूत कार्यगत सीप वा ज्ञान अनिवार्य भए नभएको यकिन गरेर मात्र श्रम स्वीकृति दिने व्यवस्था गर्नुपर्ने उल्लेख गरेका छन् ।
समस्या र समाधानका उपाय उपशीर्षकमा उनले श्रम, रोजगार तथा समाज कल्याण मन्त्रालयले नेपाली दूतावासहरूमा राहत तथा उद्धार कोषको स्थापना अनिवार्य रूपमा गर्ने व्यवस्था मिलाउनु पर्ने पनि जनाएका छन् ।
प्रस्तावित राजदूत ढकालले राजदूतहरूको कार्यकाल अगावै फिर्ता बोलाइनु, सुविधाको अभाव र सामाजिक क्षेत्रबाट नियुक्त हुने राजदूतका लागि चाडपर्व खर्च नभएकाले समान पदमा पनि विभेद भएको बताएका छन्।
यस्ताे छ, कार्ययोजना :
राराखबर । २०८१, १८ भाद्र बुधबार