कर्णालीमा उपनिर्वाचन :

कर्णालीमा उपनिर्वाचनकाे नतिजा : माओवादी सन्ताेषजनक, कांग्रेस एमाले निराशामा !

सुर्खेत । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना निर्वाचित भएकी छन् ।

उनी १ हजार ६३७ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९४ मत पाइन् । यस्तै तेस्रो स्थानमा रहेकी एमालेकी उम्मेदवार जाना शाहीले १ हजार १३२ मत प्राप्त गरेकी थिइन् ।

यसअघि सर्केगाड गाउँपालिका नेकपा माओवादीकै चन्द्रसिंह कार्की थिए । उनको सडक दुर्घटनाका कारण मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो ।

दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा ३ हजार १२७ मत ल्याएर शाही विजयी हुँदा नेपाली काँग्रेस उम्मेदवार झलकबहादुर भण्डारी २ हजार ६७५ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बने ।

माओवादी केन्द्रका उम्मेदवार जंगबहादुर बराल मगर ८४२ मतमा सीमित भए । २०७९ को स्थानीय तह निर्वाचनमा महाबुमा काँग्रेस उम्मेदवार लछुमन गुरुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । तर गुरुङको निधन भएपछि महाबुमा उपनिर्वाचन भएको हो ।

नलगाड नगरपािलकाको उपमेयरमा माओवादीकी देवका लामिछाने विजयी भएकी छन् । उनले ४२७२ मत पाएर विजयी हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंहले ३१४७ मत मात्रै पाइन् । एमालेकी सुनिता बोहराले २५४२ मत ल्याइन् । यसअघि यो नगरपालिकामा माओवादीकै सहयोगमा कांग्रेस विजयी भएको थियो । यसपटक सबै दलहरुले एकल प्रतिस्पर्धा गरेका थिए ।

जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्ब बहादुर सिंह निर्वाचित भएका छन् । कांग्रेसका खम्बबहादुर सिंहले ३ सय ४७ मतसहित विजयी भएका हुन् ।

उनका निकटम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले ३ सय ३२ मत प्राप्त गरे । निर्वाचन आयोगका अनुसार तेस्रो स्थानमा रहेका नेकपा एमालेका डम्बर बादुर घर्तीले २ सय ५२ मत ल्याउँदा राप्रपाका उम्मेदवारले ८ मत प्राप्त गरे ।

दैलेखको दुल्लु नगरपालिका–१३ मा नेकपा एमाले विजयी भएको छ । दुल्लु-१३ मा एमालेका उम्मेदवार लाल बहादुर शाहीले ५ सय ७४ मत पाए ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रेशमबहादुर शाहीले ५ सय ७१ मत पाएका थिए । त्यस्तै, नेकपा माओवादी केन्द्रका ढकेन्द्र बहादुर शाहीले २ सय ७८ मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका रामबहादुर शाहीले ५३ मत पाए । कांग्रेसका उम्‍मेदवारलाई ३ मतले हराउँदै नेकपा एमालेका उम्‍मेदवार निर्वाचित भएका हुन् ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा नेपाली कांग्रेसका उम्मेदवार मोती राम खत्री ५ सय ९० मतसहित विजयी भएका हुन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जसीराम बस्नेतले ५ सय ३७ मत प्राप्त गरेका छन् । यो वडामा यसअघि नेकपा माओवादी केन्द्रले जितेको थियो ।
कालिकोटको तिलगुफा नगरपालिका–४ को वडाध्यक्ष नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्गराज शाहीले १४३ मत ल्याएर वडाध्यक्ष जितेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नैसोभा शाहीले ११५ मत ल्याएकी छन् । एमालेका ऐनबहादुर शाहीले ७८ र कांग्रेसका पैलबहादुर शाहीले ४९ मत पाए । राप्रपाका गोगनबहादुर शाहीले १७ र रास्वपाका गगन बलमे ५ मत ल्याए ।

डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका–५  को वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नर बहादुर झाक्रीले १ सय ६१ मत ल्याएर वडाध्यक्षमा विजय भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का नर बहादुर राेकाले ११६ मत ल्याएका छन् । नेपाली काँग्रेसका राजेन्द् प्रसाद न्याैपानेले  २१ मत पाए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया