सुर्खेत । मानव सेवा आश्रमको कर्णाली प्रदेशस्तरीय भवन निर्माणार्थ आयोजना गरिएको महायज्ञ वीरेन्द्रनगरमा जारी छ । शुक्रवारदेखि सुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञको आइतबार तेस्रो दिन पुगेको छ ।
महायज्ञलाई सफल पार्न मूल आयोजक समिति र विभिन्न उपसमितिहरू गठन गरिएको छ । दैनिक हजारौँको सङ्ख्यामा मनकारी समाजसेवीहरू सेवामा खटिएका छन् । तीनै मध्यकी एक हुन्, वीरेन्द्रनगर–७, निवासी ज्ञानुकुमारी सुवेदी गैरे ।
महायज्ञ मूल आयोजक समितिको सदस्य समेत रहेकी गैरे पछिल्लो एक महिना यता महायज्ञको सेवामा व्यस्त छिन् । जन जागृति प्राथमिक विद्यालय, पदमपुरकी प्राचार्य समेत रहेकी उनी हिजोआज महायज्ञको व्यवस्थापनमा खटिएकी छिन् ।
प्राचार्य गैरेले आइतबार आफ्नो र परिवारको तर्फबाट प्रदेशस्तरीय मानव सेवा आश्रम भवनको एउटा कोठा निर्माण गरिदिने घोषणा पनि गरेकी छिन् । उनले आफ्ना सासू, ससुरा प्रजापति गैरे र भद्रकली गैरेको सम्झनामा आफ्नो परिवारको तर्फबाट ६ लाख ५५ हजार १५५ रुपैयाँ दान गरेकी हुन् ।
आश्रम भवनको कोठा निर्माणका लागि उनका श्रीमान् खगेन्द्र प्रकाश गैरे, छोराहरू डा. रोशन गैरे र इन्जिनियर पारस गैरेको तर्फबाट दान गरेको उनले बताइन् । ‘यो मानवताको लागि सहयोग हो । सासू ससुराको सम्झनामा हामीले पनि सहयोग गरेका हौँ,’ उनले भनिन्, ‘हामी जसले जसरी सक्छौँ, त्यसरी नै सहयोग गरौँ । म सम्पूर्णलाई आग्रह गर्छु ।’
मानव सेवा आश्रमको पहलमा यही मङ्सिर २१ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा श्रीमद भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ भइरहेको छ । महायज्ञबाट दानस्वरुप सङ्कलन भएको रकम प्रदेशस्तरीय मानव सेवा आश्रम निर्माण गरिने छ ।
महायज्ञ मूल आयोजक समितिका संयोजक डाक्टर नवराज केसीका अनुसार आश्रमको भवन निर्माणका लागि वीरेन्द्रनगर–११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा दिएको छ ।
सात दिने महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथा वाचक रहेका छन् । महायज्ञबाट ५ करोड रुपैयाँ सङ्कलन हुने र प्रत्येक दिन ५ हजार दर्शकहरूले अवलोकन गर्ने आयोजक समितिले जनाएको छ ।
राराखबर । २०८१, २३ मंसिर आईतवार