सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–३ का ५६ वर्षीय सन्दुक तामाङलाई सदरमुकाम दुनै पुग्न तीन दिन लाग्छ । चीनको सीमास्थित मरिम्ला नाका भने एकै दिनमा पुग्न सक्छन् । तर चिनियाँ नाका नखुल्दा र सडकको असुविधाले दैनिक उपभोग्य सामान र खाद्यान्नका लागि कष्टपूर्वक सदरमुकाम आउजाउ गर्नुपरेको उनले बताए ।
‘साँघुरो बाटोमा ज्यानको जोखिम मोलेर सदरमुकाम आउजाउ गर्नुपर्छ, सडक नहुँदा खच्चडमा सामान बोकाउनुको विकल्प छैन,’ उनले भने, ‘सदरमुकामदेखि गाउँसम्मको सडक खुले सामानको मूल्यभन्दा दोब्बर ढुवानी भाडा तिर्नु पर्दैनथ्यो ।’
अत्यधिक चिसो र सिँचाइ सुविधा नहुँदा गाउँमा वर्षमा एक बाली उवा मात्र फल्ने उनले बताए । त्यो उत्पादनले तीन महिना पनि खान पुग्दैन । झन्डै नौ महिना बाहिरकै खाद्यान्नको भर पर्नुपर्ने तामाङले बताए ।
कर्णालीलाई चीन सीमासम्म जोड्ने भेरी करिडोर र गमगढी–नाक्चेनाग्ला सडक निर्माण सुरु गरिएको छ । करिडोरअन्तर्गत डोल्पाको दुनै–लसिक्याप–सिसौल–धो–तिन्जे हुँदै मरिम्ला जोड्ने योजना छ । तर बजेट अभावमा लामो समयदेखि काम अलपत्र छ ।
सडक नबन्दा दैनिक उपभोग्य वस्तुका लागि डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोड, सेफोक्सुन्डो र मुगुको मुगमकार्मारोङ गाउँपालिकाका बासिन्दा वर्षौंदेखि सास्ती भोग्न बाध्य छन् ।
सडक निर्माणमा ढिलाइ हुँदा खाद्यान्न र अन्य सामान लिन हिँडेर सदरमुकाम दुनै जानुपरेको छार्काताङसोङ–१ का पाल्जोर तामाङले बताए । ‘सदरमुकाम गएर चामल ल्याउन कम्तीमा चार दिन छुट्याउनुपर्छ,’ उनले भने, ‘जबकि, चीन सीमा पुग्न र फर्कन एक दिन मात्र लाग्छ, यो बाटो खुले त हाम्रो जीवन नै फेरिने थियो ।’
संघीय सरकारले भेरी करिडोरअन्तर्गत जाजरकोट–दुनै सडकमा यस वर्ष १ अर्ब ४ करोड रुपैयाँ छुट्याइएकामा बजेट कटौती भएपछि ५६ करोडको मात्र अख्तियारी आएको छ ।
उक्त रकमले तल्लुदेखि त्रिपुराकोटसम्म स्तरोन्नति हुने भेरी करिडोर आयोजना कार्यालयले जनाएको छ । ‘ट्र्याक खुलेकामा अलिअलि भए पनि बजेट आइरहेको छ,’ करिडोरका सिनियर डिभिजनल इन्जिनियर सुनिल रञ्जितकारले भने, ‘नयाँ ट्र्याक खोल्न तीन वर्षयता बजेट नै आएन ।’
‘मरिम्ला र क्याटो नाकासम्म सडक जोडिए कर्णालीको लाइफलाइन बन्छ । तिन्जेमा सुक्खा बन्दरगाह आवश्यक छ, सडक पुगे धो तरापमा हिमाली सहर बन्नेछ । जसले यहाँको पर्यटन प्रवर्द्धन र अन्य पूर्वाधार विकासमा पनि ठूलो सहयोग पुग्नेछ ।’
करिडोरअन्तर्गत डोल्पा सदरमुकाम दुनैदेखि काइके गाउँपालिकाको लसीक्यापसम्मको २५ किलोमिटर सडकमा सूर्य–श्रेया–शान्तिदेवी जेभीले तीन वर्षदेखि काम गरिरहेको छ । निर्माण कम्पनीले २०७८ चैत १७ मा १३ करोड लागतमा ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीलाई २०८२ पुस १६ सम्मको समय दिइए पनि अहिलेसम्म १५ प्रतिशत मात्र काम गरेको छ ।
डोल्पोबुद्धको सीमाबाट चीनको मरिम्ला जोडिन्छ भने सेफोक्सुन्डो गाउँपालिकाको साल्दाङसँग तिब्बतको क्याटो जोडिन्छ । वर्षमा एकपटक अगस्टमा १५ दिन यी दुवै स्थानमा बजार लाग्छ । त्यसैबेला माथिल्लो डोल्पाका स्थानीयले वर्षभरि पुग्ने खाद्यान्न र दैनिक उपभोग्य सामान खरिद गर्छन् भने यार्सालगायत जडीबुटी बिक्री गर्छन् ।
डोल्पोबुद्धका अध्यक्ष कार्मा छोइबेल गुरुङले मरिम्ला र क्याटो नाकासम्म सडक जोडिए कर्णालीको लाइफलाइन बन्ने बताए । ‘तिन्जेमा सुक्खा बन्दरगाह आवश्यक छ, सडक पुगे धो तरापमा हिमाली सहर बन्नेछ,’ उनले भने, ‘जसले यहाँको पर्यटन प्रवर्द्धन र अन्य पूर्वाधार विकासमा पनि ठूलो सहयोग पुग्नेछ ।’
मुगुलाई चीनसँग जोड्ने गमगढी–नाक्चेनाग्ला सडकमा पनि बजेट विनियोजन भएको छैन । यस वर्ष नाग्मा–गमगढी सडकको स्तरोन्नतिका लागि ४ करोड छुट्याइए पनि नाग्चेनाग्लातर्फ नयाँ ट्र्याक खोल्न बजेट नआएको सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख इन्जिनियर दीपेन्द्रकुमार चौधरीले बताए ।
उनका अनुसार कर्णालीबाट चीन जोड्ने यो सबैभन्दा छोटो दूरीको सडक हो । गमगढीबाट ६८ किमि दूरीको यो सडकमा अहिलेसम्म १६ किमि (मुगमकार्मारोङ गाउँपालिकाको छाइलसम्म) मात्र ट्र्याक खोलिएको छ ।
कान्तिपुरबाट साभार
राराखबर । २०८१, २४ पुष बुधबार