सार्वजनिक सुनुवाइ

नगरपालिकाको कामलाई प्रभावकारी बनाउने वीरेन्द्रनगरको प्रतिबद्धता

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न आठ वटा प्रतिबद्धता गरेको छ । वीरेन्द्रनगर नगरपालिकाको आयोजना एवं सुशासन प्रबद्र्धनका लागि युवा संस्थाको सहजीकरण शुक्रवार वीरेन्द्रनगरमा भएको सार्वजनिक सुनुवाइ भएकाे हाे ।

कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत कार्यालयको तर्फबाट विकास निर्माणलाई थप गुणस्तरीय एवं सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता गरिएको हो ।

कार्यक्रममा सहभागीहरूले सडकमा बत्ती र सिसिटिभी जडान गर्नुपर्ने, सडकहरूको स्तरोन्नति गर्नुपर्ने, नगर बस सञ्चालन गर्नुपर्ने, नियमित र प्रभावकारी रूपमा बजार अनुगमन गर्नुपर्ने, सबै व्यवसायलाई करको दायरामा ल्याउनुपर्ने, खानेपानीको व्यवस्थापन चुस्त बनाउनुपर्ने, कृषि हाट बजार र चिस्यान केन्द्र निर्माण गर्नुपर्ने, फोहोर एवं ढल व्यवस्थापनलाई अझै प्रभावकारी बनाउनु पर्ने सवाल उठाएका थिए ।

कार्यक्रमका सहभागीहरूले उठाएका सवालको जवाफ दिँदै नगर प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर विकासको लयमा अगाडी बढेको बताइन् । नागरिकका आवश्यकता धेरै तर सीमित स्रोत साधन भएकाले प्राथमिकताका आधारमा बिस्तारै विकास निर्माणका काम भइरहेको नगरप्रमुख ढकालको भनाई थियो ।

सडक बत्ती जडानका लागि पाँच हजार बल्ब खरिदको काम भइरहेको र चाँडै नै जडान गरिने ढकालले बताइन् । नगरपालिका एक्लैको प्रयासले सोचे अनुरूपको काम गर्न नसक्ने भन्दै त्यसका लागि नगरवासीको साथ सहयोग जरुरी हुने उनको भनाई थियो ।

भौतिक विकारसँगै सामाजिक विकास र कल्याणकारी कार्यक्रमहरू ‘हेल्लो गर्भवती आमा’, मेयरसँग महिला किसान, गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स, नगर अस्पताल, निःशुल्क स्वास्थ्य शिविर लगायतका कार्यक्रम सञ्चालन गरिरहेको उनले बताइन् ।

उपप्रमुख नीलकण्ठ खनालले सुशासन पारदर्शिता र जबाफदेहीताका लागि नागरिकको खबरदारी सधैँ जरुरी रहेको बताए । सार्वजनिक सुनुवाइमा सहभागीहरूले उठाएका सवालको कार्यान्वयनसँगै सुझावलाई ग्रहण गरेर सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपप्रमुख खनालले प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बासकोटाले पुस मसान्तसम्म २४ दशमलव २४ प्रतिशत वित्तीय प्रगति भएको जानकारी गराए । विकास निर्माण नियमित कामसँगै नगर प्रहरी नियुक्ति, हाइवेमा सडक सोलार बत्ती जडान, सेफ हाउस सञ्चालन, नमुना रोजगार सेवा केन्द्र सञ्चालन लगायत कार्यक्रमहरू सञ्चालन भइरहेको उपप्रमुख खनालले बताए ।

सवाल जवाफपछि वीरेन्द्रनगर नगरपालिकाभित्र रहेका सडकहरूको स्तरोन्नति गर्ने, ल्याण्डफिल्डसाइडमा फोहोर व्यवस्थापनलाई अझै व्यवस्थित बनाउने, भू–उपयोग नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, बजार अनुगमनलाई प्रभावकारी बनाउने, सहरी विकास आयोजना अनुसार तटबन्धन गर्ने प्रतिबद्धता गरिएको छ ।

त्यस्तै कृषि हाट बजार तथा कोल्ड स्टोर लाई व्यवस्थित गर्ने, बजेट विनियोजन गर्दा बस्ती स्तरका योजना तथा माग र आवश्यकताका आधारमा गर्ने, नगरपालिकाको सेवालाई सबैको पहुँचयुक्त गुणस्तरीय, जनमुखी बनाउने प्रतिबद्धता गरिएको हो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया