जेष्ठ ४, २०७३-
- स्थानीय प्रशासन समेतलाई छलछाम
- खोजतलासको अनुमति विना नै पूर्वाधार निर्माण
एक चिनियाँ समुहले भेरी नदीको किनारामा मनोमानी तवरले सुन लगाएत धातुको खोजतलास गर्ने गरेको छ । भेरीमालिका नगरपालिका–४, धल्लास्थित भेरी नदीको किनारमा २ दर्जनको संख्यामा रहेका उक्त समुहले सम्बन्धित निकायको अनुमति विना नै सुन खोजतलास गरिरहेको छ ।
भेरी नदी किनारामा सुन खोजतलासमा लागेको चिनियाँ टोलीले सो कामका लागि खानी तथा भूगर्भ विभागबाट जारी गरिने अनुमती पत्र समेत देखाउन सकेको छैन । धरान–७ का बेदप्रसाद अर्यालका नाममा जारी खोजतलासको अनुमति पत्र मात्र चिनियाँले देखाउने गरेको छ । जुन अनुमतिपत्रको नविकरण नै नभएको प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लले बताए ।
आर्थिक वर्ष २०७२/७३ का लागि अनुमतिपत्र नविकरण गरेर नल्याएसम्म खोजतलास गर्न बन्देज लगाएको मल्लले बताए । चिनियाँहरुले स्थानीय प्रशासनलाई स्पष्ट सूचना दिन चाहेका छैनन् । के गर्दै छन् भन्ने थाह पनि हुन नसकेको प्रनाउ मल्लले बताए । खोजतलासमा लागेका चिनियाँले व्यक्तिगत विवरण समेत लुकाउने गरेका छन् । चिनियाँहरूले एकपछि अर्को झुठ बोल्दै आएको उनले बताए । मल्लका अनुसार भाषाका कारण थप समस्या भइरहेको छ ।
चिनियाँले सुन खानीको पहिचान गर्ने उदेश्यले नदी किनारमा विभिन्न कार्यका लागि ५ करोड खर्च गर्न लागेको मल्लले दाबि गरे । आधिकारीक कागजात माग्दा पटकै पिच्छे फरक विवरण दिने गरेको उनले बताए । तर चिनियाँ समुहले भने जबरजस्ती मोटो रकम लगानी गरेर निरन्तर सुन खोज तलास गर्दै आएको छ ।
नदी किनारको २ स्थानमा ड्रिलीङ्ग कार्य भइरहेको छ । खोजतलासमा २५ चिनियाँ र १५ नेपाली कामदार संग्लग्न रहेका छन् । चिनियाँहरुले अनुमति विना नै पूर्वाधार निर्माण र उपकरण तथा खोजतलासमा लगानी गरेको देखिएको छ । चिनियाँहरुले ठुलै लगानी गरेर भेरी नदीको किनारमा विभिन्न कार्य गर्न लागेको स्थानीय केदार कार्कीले बताए ।
उनीहरु ४ महिनादेखि शिविर खडा गरेरै बसेका छन् । शिविर र सुन खोजतलास क्षेत्र भित्र अपरिचितको प्रवेशमा रोक लगाएको कार्कीले बताए । ‘स्थानीयले सोधीखोजी गरे उनीहरुले उत्तर पनि दिँदैनन् र उल्टै हप्काउँछन्,’ उनले भने, ‘चिनियाँले ४ किलोमीटर पहुँचमार्ग, नदी किनारामा तारजाली भर्ने, ड्रिलीङ्ग गर्ने, शिविर तथा संरचना निर्माण र जेनेरेटर, पाईप लगाएत उपकरण लागि धेरै खर्च गरेका छन् ।’
चौबिसै घण्टा सुन खोजतलासका साथै अन्य संरचना निर्माणमा जुटेका चिनियाँले स्थानीय प्रशासन, संचारकर्मी, स्थानीय बासिन्दा लगाएतलाई सूचना दिन कन्जुस्याईं गरेको कार्कीले बताए । पत्रकार र अन्यलाई तस्बिर खिच्न समेत प्रतिबन्द लगाउने गरेको उनले बताए ।
यसअघि चिनियाँ टोलीले धर्मश्री माइन नामक चाईनिज कम्पनीको नाममा भेरी नदीको बगरमा सुन खानीको सम्भाव्यता अध्ययन गर्न लागेको बताएको थियो । उनीहरुले खानी तथा भुगर्भ विभागबाट सुन खानीको अध्ययन तथा अनुसन्धानको अनुमति लिएको बताएका थिए । स्थानीय प्रशासनले अनुमती मागेपछि उनीहरुले १ महिना कार्य बन्द गरेका थिए । पछिल्लो समय धरानका अर्यालको नाममा नविकरण नभएको अनुमति देखाउँदै निरन्तर काम गर्दै आएका छन् । खानी तथा भूगर्भ विभागसँग भेरी नदीका विभिन्न ठाउँमा सुन पाइएको तथ्यांक अनुसार चिनियाँले खोजीकार्य गरिरहेको देखिएको हो ।
भेरी नदी किनारामा सुन खोजतलास गर्न लागेको बताउने चिनियाँले साँचो कुरा नबोलेको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताए । ‘सुन खोज्छौं भन्छन्, अन्य कागजपत्र केहि देखाउँदैनन्,’ गौमतले भने, ‘खोजतलास बन्द गर्ने हो भने पनि उनीहरु माथिल्लो निकायसँगै समन्वय गरेको आए जस्तो देखिन्छ ।’ अनुमतिपत्र देखाएर मात्र काम अगाडी बढाउन लगातार ताकेता गरेको उनले बताए ।
नेपाली कामदारलाई काम लगाउने र सिकाउने बाहेक अन्य जानकारी नभएको दोभासे तेन्जीङ गुरुङले बताए । ‘जे काम गर भन्यो त्यही गर्न लगाउनुपर्छ । कम्पनी कुन हो ? के के काम गर्ने ? कहिलेसम्म गर्ने भन्ने जानकारी दिएका छैनन्,’ उनले भने ।
खोजतलासबाट सुन फेला परे/नपरेको बारे सरकारी निकाय र स्थानीय बासिन्दा अनविज्ञ रहेका छन् । सम्भाव्यता अध्ययन अनुसन्धानमा सरकारीपक्षको उपस्थिती पनि नहुँदा स्थानीयले झन् आशंका गर्न थालेका छन् ।
राराखबर । २०७३, ४ जेष्ठ मंगलवार