निरंकारी सेवा दलले गर्‍याे बुलबुलेमा सरसफाइ

सुर्खेत । एक हुल मान्छेहरू बुलबुले उद्यानको गेटमा जम्मा भए । एक पछि अर्को गर्दै भिड बाक्लो भयो । आइतबार बिहान करिब ११ बजेको थियो । सबैले अलि भिन्न देखिने ड्रेस गाढा निलो कुर्ता–सलवार, सेतो दुपट्टा, बायाँ हातमा सेतो पट्टी र केहीले खैरो कमिज, खाकी पाइन्ट लगाएका थिए । मुखमा मास्क, हातमा ग्लोब । ती मान्छेहरूको हुल र्‍यालीमा परिनत भयो ।

र्‍याली बिस्तारै गेटबाट भित्र बुलबुले तालतिर प्रवेश गर्यो । र्‍यालीमा सहभागी युवाहरूको हातमा प्लेकार्ड छ ।

त्यसमा लेखिएको छ,‘पानी जोगाऔँ, जीवन बचाऔँ’, ‘सफा पानी, सफा मन’, ‘पानीको संरक्षण, जीवनको संरक्षण’ । बुलबुलेको माथिल्लो तालमा पुगेपछि र्‍याली रोकियो । र्‍यालीलाई सम्बोधन गरिरहेका इन्चार्ज बलभद्र पुरीले निर्देशन दिँदै भन्छन्, ‘तपाईँलाई जे कुरा फोहोर हो जस्तो लाग्छ, त्यही टिप्नुहोस् ।’ अगुवाको निर्देशन पछि समूहमा कार्य विभाजन हुन्छ । अनि लाइनबद्ध रूपमा समूह सरसफाइमा जुट्छ ।

त्यो समूह थियो, सन्त निरंकारी मिसन सेवा दल, सुर्खेत । सन्त निरंकारी मिसन अन्तर्गत गठन गरिएको स्वयंसेवी समूह हो, सेवा दल । जसको सुर्खेत शाखा कार्यालय भने वीरेन्द्रनगर–१ मा रहेको छ ।

विश्वभर फैलिएको यो समूहको मुख्य उद्देश्य भने निस्वार्थ सेवा (सेवा भाव) को माध्यमबाट समाज र मानव कल्याणमा योगदान गर्नु रहेको सेवा दल सुर्खेतका इन्चार्ज पुरी बताउँछन् । ‘हामीले वीरेन्द्रनगरमा रहेर सामाजिक क्षेत्रका धेरै कामहरू गर्दै आएका छौँ । तर अरूले जसरी प्रसार प्रचार भने गर्दैनौ,’ उनले भने ।

शान्त, चुपचाप सेवा गरिरहेको उक्त सेवा दलले विगत लामो समयदेखि सुर्खेतमा रक्तदान, सरसफाइ, स्वास्थ्य शिविर, वृक्षारोपण र पानीका मुहान संरक्षण लगायत अन्य समाजसेवामूलक गतिविधिहरू गर्दै आइरहेको छ ।

तर यसरी सेवा गरिरहेको फोटो, भिडियो भने स्वयंसेवकको सामाजिक सञ्जालमा पोस्ट गर्न पाइदैन् । ‘हाम्रो काम सेवा गर्ने हो । निस्वार्थ सेवा गर्छौँ । त्यहाँ कुनै प्राप्तिको अपेक्षा गर्दैनौ,’ इन्चार्ज पुरीले भने, ‘सेवाको समयमा हामी मोबाइल समेत झिक्दैनौ ।’

सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्य रहेको बुलबुले ताल र उद्यान परिसरमा आइतबार सेवा दलले करिब ५ घण्टा सरसफाइ गर्‍याे । पछिल्लो समय विकास निमार्ण लगायतका कारण फोहोरी र कुरूप बन्दै गएको उद्यानमा सेवा दलले मसिनो गरी सरसफाइ गर्‍याे । सेवा दलले, त्यहाँको प्लास्टिक, पातपतिंगरदेखि ताल किनाराको किच्ड समेत व्यवस्थापन गर्‍याे।

यो बिचमा कुनै एक जना पनि स्वयंसेवक उठेर अनेत्र हिडेन्न । नत कसैले फोटो खिचे, नत टिकटक बनाए । अध्यात्म र अनुशासनमा बाँधिएको यो युवा सेवा दल समाजसेवा, मानवता र भाइचारा प्रवद्र्धन गर्दै आइरहेको सेवा दलकी सदस्य समिता योगी बताउँछिन् ।

‘निस्वार्थ सेवा नै सच्चा भक्ति हो ।’ भन्ने सिद्धान्तलाई हामी आत्मा साथ गछौं,’ समिताले भनिन्, ‘अनुशासन, इमानदारिता र समर्पण भाव नै सेवा दलको विशेषता हो ।’

Samita Yogi

सेवा दलले विपद् व्यवस्थापन, आपत्कालीन सहायता र सार्वजनिक सेवामा समेत सक्रिय भूमिका खेल्दै आएको इन्चार्ज पुरी बताउँछन् । उनका अनुसार आइतबार सन्त निरंकारी मिसन द्वारा सञ्चालित ‘प्रोजेक्ट अमृत’ अन्तर्गत रहेर बुलबुले ताल परिसर र उद्यान क्षेत्रमा सरसफाइ गरिएको हो ।

सन्त निरंकारी मिशनका सद्गुरु हरदीप सिंह जी महाराजको सम्झनामा प्रत्येक वर्ष पोखरी, ताल, इनार, नदी जस्ता जलस्रोतहरूको सरसफाइ र संरक्षण गर्ने गरिन्छ । सन्त निरंकारी मिसन हाल नेपालमा मात्रै ३५ जिल्लाहरूमा फैलिएको छ ।

शान्त, चुपचाप समाजसेवा गरिरहेको उक्त सेवा दलले आम नागरिकहरूमा वास्तविक समाजसेवाको अर्थ, औचित्य र महत्त्व बुझाई रहेको छ ।

तस्विरमा हेर्नुहाेस : 

 




फेसबुकबाट तपाईको प्रतिक्रिया