सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनअपेक्षा अनुसार निर्णय गर्न र प्रक्रिया अगाडी बढाउन सचिवहरूलाई निर्देशन दिएका छन्।
आर्थिक वर्ष २०८१।८२ को बजेट वक्तव्यका बुँदा तथा बजेट कार्यान्वयनको अवस्था सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले लेखिएका कानुनी कुरा मात्रै देखाएर काम रोक्ने वातावरण गर्न नहुने बताए। स्वच्छ नियत राखेर गरिएका कामहरू सञ्चालनका लागि सहयोग गर्नुपर्ने बताए।
दिन बिताउने कुराको छुट नभएको बारेमा मन्त्रीहरूलाई ध्यानाकर्षण गराउँदै जिम्मेवारी पाएको बेला गम्भीरतापूर्वक कार्य गर्नुपर्ने सुझाव दिए।
मन्त्रालयको कार्यक्षेत्र र योजनाको प्रकृति अनुरूप जिल्ला र क्षेत्रका आधारमा सन्तुलन कायम गरेर योजना निर्माण गर्दा उपलब्धि र कार्यसम्पादनमा फड्को मार्न सकिने बताए।
आर्थिक अनुशासन कायम गर्ने निकायको रूपमा रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले स्वीकृत बजेट कार्यान्वयनमा लिने, भुक्तानी समयमा दिने कार्य गर्नु जिम्मेवारी भएकोले कार्यसम्पादनमा ख्याल गर्न निर्देशन दिए। रकमान्तरको अन्तिम समय पर्खिन नहुने आवश्यकताका साथ मन्त्रालय भित्रैबाट आन्तरिक कार्यहरू गर्नुपर्ने बताए।
आर्थिक वर्ष सकिन अझै चार महिना बाँकी रहेको हुँदा तदारुकताका साथ काम गर्नुपर्ने बताए। जनताको पहलकदमी र सक्रियता बढाए पनि माग गरेबमोजिम योजना छनोट नहुने भएकोले सोही अनुसारको मनोभावना सिर्जना गर्न आवश्यक रहेको बताए। यसका लागि सरोकार राख्ने कार्यालयले जनतालाई बुझाउनुपर्ने बताए।
राराखबर । २०८१, १० चैत्र आईतवार