कर्णालीमा युवाहरूका लागि आधारभूत स्काउट तालिम शुरु

सुर्खेत । नेपाल स्काउट कर्णाली प्रदेशको आयोजनामा ५८९ औँ र ५९० औँ स्काउट आधारभूत तालिम (बि.टी.सी) तथा ४३६ औँ स्काउट आधारभूत तालिम (पी.टी.सी)  सुरु भएको छ ।

कर्णाली प्रदेशका दश जिल्लाका युवाहरूलाई विभिन्न सामाजिक र सामूहिक गतिविधिहरूमा सक्रिय बनाउने र एकजुट समाज निर्माणमा सहयोग पुर्‍याउनु उक्त तालिमको आयोजना गरिएको हो ।

तालिमको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा बोल्दै उनले तालिमबाट युवाहरूलाई अनुशासन, नेतृत्व, आत्मनिर्भरता, समाजसेवा र सहयोगको भावना विकास गर्न मद्दत पुग्ने बताए ।

उनले यस अवसरमा युवाहरूलाई मानवता प्रवर्द्धनमा सहयोग पुर्‍याउन आह्वान गरे । कर्णाली प्रदेशको विपद् जोखिम र चुनौतीलाई ध्यानमा राख्दै मन्त्री भण्डारीले यस प्रकारका तालिमहरूले प्रदेशका लागि सारथि बन्ने विश्वास व्यक्त गरे ।

सरकारले सामाजिक सुरक्षामा कर्णाली प्रदेशको सशक्त भूमिका निभाउने बताउँदै नवप्रवर्तन कार्यहरूमा सक्रिय रहन समेत मन्त्री भण्डारीले आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल स्काउट कर्णाली प्रदेश प्रमुख आयुक्त कमल बोहराले स्काउटका माध्यमबाट युवा सक्रियतालाई बढावा दिन र यस प्रकारको तालिममा सहयोग प्रदान गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनहरूमा पनि यस्ता प्रकारको सहयोगको आशा गर्दै कार्य जारी राख्ने बताए ।

स्काउट आधारभूत तालिम वीरेन्द्रनगर-३ मुलपानीमा रहेकाे नोबेल एकेडेमीमा सञ्चालनमा रहेकाे छ भने  पाचँ दिनसम्म  तालिम हुनेछ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया