टुकमाया घर्ती
जाजरकोट – ‘गाउँघर शहरी क्लिनिक संचालन नसर्ने रोग व्यवस्थापन कार्यक्रम’ मार्फत नलगाड ४ लहँका १३१ जनाले स्वास्थ्य सेवा लिएका छन्।
जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय जाजरकोट र नलगाड नगरपालिका वडा नं. ४ को साझेदारीमा यो कार्यक्रम सञ्चालन गरिएको हो।
जिल्ला आयुर्वेद कार्यालय जाजरकोटका प्रमुख सुदर्शन पोखरेलले क्लिनिकमा सेवा लिनेहरूमा मुख्यतया श्वासप्रश्वास सम्बन्धि समस्या, ग्यास्ट्रिक तथा पाचन प्रणालीका समस्या, खोकी, पेट दुख्ने समस्या, , हाडजोर्नीका समस्या, मांसपेशीका रोगी र आँखाका समस्या देखिएको बताए ।
उनले गाउँघरमा लुकेर रहेका यस्ता रोगहरूको आयुर्वेदिक तरिकाबाट उपचार गर्दा यसको प्रभाव दीर्घकालीन रुपमा रहने पनि बताए ।
नलगाड वडा नं. ४ का वडा अध्यक्ष बद्री पन्तले स्थानीयलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि क्लिनिक संचालनको लागि पहल गरेको बताए ।
उनले १० गते उपचार गरिएका बिरामीहरूका लागि फलोअप सेवाका लागि २५ गते पनि यस कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

स्थानीय पुतली बोहराले गाउँमै उपचार पाउँदा अत्यधिक खुसी लागेको बताइन । उनीसँग खलंगा गएर उपचार गराउने पैसा नभएको र कम्तीमा ५ हजार रुपैयाँ लाग्ने अवस्थामा गाउँमै यस्तो सेवा पाउदा ठूलो राहतको अनुभूति भएको उल्लेख गरिन ।
यस्तै, नेपालगन्ज गएर उपचार गराएर भर्खरै फर्केकी महिला सदस्य समेत रहेको चन्द्रकला बस्नेतले पनि स्थानीय स्तरबाट सेवा पाएर निकै खुसी हुँदै आयोजकलाई धन्यवाद व्यक्त गरिन्।
बोहरा र बस्नेत जस्ता थुप्रै गरीब र दिनदुखीले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सेवा दिँदा सजिलै उपचार पाउने विश्वास स्थानीयले व्यक्त गरेका छन्।

राराखबर । २०८२, ११ मंसिर बिहीबार