सुर्खेतसहित आठ जिल्लामा भारी वर्षाको चेतावनी

मौसम पूर्वानुमान महाशाखाकाे सर्तक रहन आग्रह

सुर्खेत। विहिबार (भोलि) साँझ भदाै २७ देखि  २९ गते बिहानसम्म देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गरेको छ ।

कर्णाली प्रदेशको सुर्खेतसहित आठ जिल्ला भारीदेखि अति भारीको वर्षाको सम्भावना रहेको छ । वर्षा शनिवार २९ गते बिहानसम्म देशका पश्चिमी क्षेत्र सुर्खेत, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी र अछाममा भारी वर्षाको अनुमान गरिएको हो ।

यी जिल्लाहरुमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ । महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएकाे छ । ‘सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको महाशाखाले भनेको छ ।

भारी वर्षा हुने स्थानमा भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकोले डुबानको समस्या आउने महाशाखाको भनाइ छ ।

‘शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन अनुरोध छ’, विशेष सूचनामा भनिएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया