डोनाल्ड ट्रम्प र महिला

अमेरिकामा रिपब्लिकन र डेमोक्र्याटिक पार्टीबीच नीतिगत तहमा केही भिन्नता छन। यस्ता भिन्नता मध्येको एक हो- रिपब्लिकन पार्टीले ‘फ्यामिली भ्यालुज’ अर्थात् पारिवारिक मूल्यको रक्षकका रुपमा आफूलाई प्रस्तुत गर्छ।

उक्त पार्टीका तर्फबाट आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपतिको उमेद्वार बन्ने तयारीमा रहेका डोनाल्ड ट्रम्प परम्परागत अमेरिकी संस्कृति र ‘महानता’ रक्षा गर्ने नाममा कयौं पटक विवादमा परेका छन्।

केहि समयअघि रिपब्लिकन मान्यता अन्तर्गत आफूलाई गर्भपतन विरोधीका रुपमा प्रस्तुत गर्दा उनले यस्ता कार्य गर्ने महिलालाई जेलमा कोच्नु पर्ने विवादस्पद अभिव्यक्ति दिएका थिए। अब डेमोक्र्याटिक पार्टीकी सम्भावित उमेद्वार हिलारी क्लिन्टन विरुद्ध प्रतिष्पर्धा गर्नु पर्ने ट्रम्पले अप्रवासी, मुस्लिम र महिलाका बारेमा दिएका अभिव्यक्ति अपमानजनक मानिन्छन्।

चुनावी अभियानका क्रममा ट्रम्पले प्रतिद्वन्दी टेड क्रुज महिलाबाज रहेको दाबी गर्दै उनका प्रेम कहानी श्रीमती हेइदीलाई बताइदिने धम्की दिएका थिए। नभन्दै उनी निकट एक ट्याबलोइडले क्रुजका ५ प्रेमिका छन् भनेर कथा नै छाप्यो, तथापी क्रुजको उनीहरुसँग प्रेम सम्बन्ध पुष्टी भने भएन।

रियल स्टेट व्यापारबाट अर्बपति बनेका ट्रम्पको चाहिँ महिलासँग कस्तो सम्बन्ध थियो त? ट्रम्पले महिलासँग गर्ने व्यवहारबारे न्युयोर्क टाइम्सले यसै हप्ता लामो कथा छापेको छ। आगामी राष्ट्रपति हिलारी क्लिन्टन हुनुपर्छ भनेर वकालत गर्दै आएको न्युयोर्क टाइम्सले ट्रम्पको विगत खोतल्न ६ हप्ता लगाएर ट्रम्पसँग प्रत्यक्ष रुपले जोडिएका ५० व्यक्तिसँग गरेको अन्तर्वार्ता गरेको थियो।

अन्तरवार्ताका क्रममा उनीहरूले ट्रम्पलाई हेर्ने दृष्टिकोण फरक र कतिपय अवस्थामा विरोधाभाषपूर्ण पाइयो।

किशोरावस्थादेखि नै ट्रम्प महिलासँग सम्बन्ध बनाउन माहिर थिए। न्युयोर्क सैनिक विद्यालयमा महिलालाई खास अवसरबाहेकका समयमा प्रवेश निषेध थियो। तर प्रत्येक अवसरमा ट्रम्प फरक-फरक महिला साथी लिएर विद्यालय आउँथे।

उक्त विद्यालय पढेका उनका सहपाठी जर्ज ह्वाइट भन्छन् –  ट्रम्पले सानै उमेरमा प्ले ब्वाइको छवि बनाएका थिए। साथीभाइलाई देखाउनकै लागि पनि ट्रम्प फरक फरक महिलासँग देखिने गर्थे। उनीसँग आउने युवती असाध्यै सुन्दर, शौखिन र उच्च घरानाका हुन्थे।

विद्यालयले प्रकाशित गर्ने बार्षिक पत्रिकामा उनलाई ‘लेडिज म्यान’ भन्ने उपाधी दिइएको थियो।

आफ्ना पिताको घरजग्गा व्यवसाय चलाउन थालेका ट्रम्प सौन्दर्य प्रतियोगिताको व्यापारमा लागे। त्यहाँ उनको भेट हजारौं महिलासँग भयो। उनी मिस युनिभर्सका मालिकसमेत बने।

सन् १९९७ देखि ट्रम्पले ‘मिस युएसए’ चलाउन थाले। ‘मिस युएसए’ प्रतिस्पर्धी कै रुपमा त्यस बर्ष उनको भेट मोडल टेम्पल ट्यागर्टसँग भयो। ट्रम्पले पहिलो भेटमा नै आफूमाथि अस्वभाविक व्यवहार गरेको उनले दाबी गरेकी छन्।

न्यूयोर्क टाइम्ससँग उनले भनिन्- ट्रम्पले सोझै मेरो ओठ चुमे। हे भगवान्, उनी त त्यसबेला मार्ला माफ्लेजसँग विवाहित थिए। मलाई लाग्छ उनले अरु युवतीलाई त्यसै गरे, जुन एकदमै अनुचित थियो।

सौन्दर्य प्रतिययोगिता सञ्चालक कम्पनीका मालिक ट्रम्प आफैं प्रतिस्पर्धी युवतीहरूको मूल्यांकनमा सरिक हुन्थे। सन् २००९की मिस क्यालिफोर्निया २१ वर्षिया क्यारी प्रिजिनका अनुसार ट्रंम्पले आपत्तिजनक ढंगले प्रतिस्पर्धीको मूल्यांकन गर्ने गर्थे।

उनका अनुसार ट्रम्प प्रत्येक युवतीको नजिकमा जान्थे, माथिदेखि तलसम्म शरिर नियाल्थे र त्यसपछी अर्की युवतीतिर आँखा पुर्याउँथे। प्रतिस्पर्धामा उत्रिएका युवती स्वयंलाई आफूबाहेक सबैभन्दा राम्री को छ भन्न बाध्य पार्थे। ट्रम्पको व्यवहारका कारण प्रतिस्पर्धीले अपमानित महशुस गर्ने गरेको क्यारी प्रिजिनले बताएकी छिन्।

१९९६ मा मिस युनिभर्स भएकी एलिसिया मचाडो  ट्रम्पको अपमानका आफ्नो जीवनमा आघात पुगेको बताउँछिन्। उनी मोटाउन थालेकी थिइन्, जुन ट्रम्पका निम्ति असह्य भयो। सार्वजनिक रुपमा पत्रकार सामु ट्रम्पले गरेको अपमानका कारण पाँच वर्षसम्म अत्यन्त कमजोर हुने र खाने कुरा प्रति अपराधभाव हुने समस्याको शिकार भएको बताउँछिन्।

मोडल रोवाने ब्रेवरका अनुसार ट्रम्पले उनलाई एक पार्टीमा भएको पहिलो भेटमा नै

‘स्विमिङ कस्ट्युम’ लगाउन लगाए र ‘ट्रम्प गर्ल’ भन्दै अरू समक्ष चिनाएका थिए। ट्रम्पको यो व्यवहार आपत्तीजनक भएको उनले बताएकी छिन्।

ट्रम्पका पिता फ्रेड पनि परिवारमाथि आफ्नो आदेश लाद्ने गर्थे। ट्रम्पकी पूर्व पत्नी इभाना जेल्निकोभाका अनुसार सबैले खाना के खाने भन्ने समेत फ्रेडले निर्णय गर्थे जसलाई छोरा डोनाल्ड र परिवारका अन्य सदस्यले विरलै इन्कार गर्थे। एक दिन सबै परिवार सदस्यले ‘स्टिक’ खाने भन्ने फ्रेडको उर्दीलाइ इभानाले इन्कार गरिन्। पछि डोनाल्डले इभानालाई भने– बाबुले सबैलाई माया गरेर नै ‘स्टिक’ खाना भनेका हुन्, तिमीले मान्नु पर्थ्यो।

 

ट्रम्पले आफ्नो कम्पनीको निर्माण विभाग प्रमुखमा बर्बरा रेसलाई नियुक्त गर्दा पनि फ्रेडले महिलालाई नियुक्ति गरेको भन्दै निको मानेनन्।

ट्रम्प भन्छन् – त्यो युग छुट्टै हो। सम्भवत मेरा बाबुले त्यो पदमा महिला बसेको यसअघि कहिल्यै देखेका थिएनन्।

आफूलाई बाबुभन्दा उदार दाबी गरेपनि महिलाका शरीर प्रति भने उनी टिप्पणी गरिहाल्थे। उनले रेस मोटी भएको भन्दै व्यंगात्मक ढंगले टिप्पणी गरेको रेस बताउँछिन्।

उनी महिलाको शरिरमाथि असाध्यै चासो राख्छन्। यतिसम्मकी उनलाई आफ्नी छोरी इभांकाको शरिरका बारेमा पनि चासो राख्छन्। १९९७मा ‘मिस टिन युएसए’को कार्यक्रम सञ्चालन गरेकी थिइन् इभांकाले। ट्रम्प दर्शकदीर्घामा थिए। उनले नजिकै बसेकी मिस युनिभर्स ब्रुक लिसँग सोधिहाले – मेरी छोरी ‘हट’ छिन नि हैन ?

महिलाहरूसँग सम्बन्ध उनी गोप्य राख्न चाहँदैन थिए। बरू अरूलाई सुनाउन खोज्थे। पहिलो वा दोस्रो भेटमा नै उनी आफ्नो रोमान्सबारे अरुलाई सुनाइहाल्थे। यतिमात्र होइन, उनी महिलालाई नामबाट बोलाउनै खोज्दैनन्। उनी भर्खरै चिनजान भएका महिलालाई पनि ‘हनी’ ‘डियर’ भन्ने शब्द प्रयोग गरिहाल्छन्।

ट्रम्पसँगको यौनसम्पर्कको प्रसंगसहित एक महिलाको अन्तर्वार्ता न्युयोर्क पोष्टमा छापिएको थियो, जसको शीर्षक ‘बेस्ट सेक्स आइ ह्याभ एभर ह्याड’ थियो। यो समाचार ट्रम्पले अफ्नो कार्यालयका सबै कर्मचारीलाई पढ्न लगाएका थिए। त्यसमा उनलाई गर्व थिए।

महिलाहरूसँगको सम्बन्ध र टिप्पणी जतिसुकै विवादित भएपनि उनी आफ्नो व्यावसायिक कामका लागि भने महिलालाई नै धेरै विश्वास गरेका छन्। उनका अनुसार– सामान्यतया पुरुषहरु महिला भन्दा राम्रो काम गर्छन्, तर एक असल महिलाले १० जना पुरुषको भन्दा राम्रो काम गर्न सक्छिन्।

ट्रम्पको पहिलो वैवाहिक  जीवन भने सुखद रहेन। उनले आफ्नी प्रथमपत्नी इभानालाई व्यावसायिक जिम्मेवारी समेत सुम्पिएका थिए। इभानालाई ट्रम्पस् क्यासिनो र प्लाजा होटलको अध्यक्ष बनाएका थिए। ट्रम्पको भनाईलाई मान्ने हो भने यो नै उनको गल्ती थियो। एक अन्तर्वार्तामा ट्रम्पले भनेका छन्– इभानालाई श्रीमतीको भूमिका भन्दा धेरै जिम्मेवारी दिनु नै मेरो गल्ती थियो।

इभानासँगको सम्बन्ध बिच्छेदपछि उनले मार्ला माफ्लेजसँग वैवाहिक जीवनमा बाँधिए। त्यो सम्बन्ध पनि टुटेपछि उनले मलाइनासँग विवाह गरे। उनले साँच्चै मलाइनालाई कुनै व्यावसायिक जिम्मेवारी दिएका छैनन्।

इभानाले ट्रम्पसँगको वैवाहिक सम्बन्धमा आफूले प्रेम र सद्भावको बद्ला हिंसा अनुभूत गरेको बताएकी छन्।

ट्रम्प भने महिलासँगको आफ्नो सम्बन्धबारे अफवाह फैलाइएको दाबी गर्छन्। उनी भन्छन्- म महिलालाई साँच्चिकै सम्मान गर्छु। सञ्चारमाध्यममा आफ्नो महिलाप्रतिको व्यवहार र दृष्टिकोणलाई गलत रूपमा प्रस्तुत गरिएको ट्रम्पको गुनासो छ।

(यो सामग्री न्युयोर्क टाइम्समा प्रकाशित ‘क्रसिङ द लाइन्स : हाउ डोनाल्ड ट्रम्प बिह्याभ्ड विद वुमन इन प्राइभेट’ को आधारमा तयार गरिएको हो।)




फेसबुकबाट तपाईको प्रतिक्रिया