सुर्खेतका नीजि विद्यालयको चर्तिकला

DSC07439

वीरेन्द्रनगर –८ ईत्राममा संचालित एक निजी विद्यालयले भ्यानको सिट क्षमताभन्दा दोब्बर विद्यार्थी राखेर विद्यालय लैजाँदै ।

सुर्खेत, ९ असार ।
बिहान ८–९ बजेको समयमा वीरेन्द्रनगरका मुख्य चोकहरुमा स्कुल बस रोकिन्छन् । बस कुरेर बसकेका विद्यार्थीहरु हुरुर्र बसतिर दौडिन्छन् । बसभित्र पस्छन् । बस भरिभराउ भै सकेका हुन्छन् ।
दुईजनाको सिटमा पाँच जनासम्म ठेलमठेल गरेर बस्छन् । सिटमा अडिने ठाउँ नभएपछि कोचिँएर ढोकैसम्म आइपुग्छन् । त्यसरी कोचिएर बसेका विद्यार्थीलाई बसका स्टापले उल्टै झपार्छन्, ‘अलि पर जाऊ, मिलेर बस् है मिलेर ।’
वीरेन्द्रनगरमा संचालित अधिकांश निजी विद्यालयहरुले विद्यार्थीलाई स्कुल बसमा कुखुरा झै कोचेर यसरी नै ल्याउने–लैजाने गरेका छन् ।
प्रतिसिट एक बालबालिकाको दरमा यातायात व्यवस्था मिलाउनुपर्नेमा ती विद्यालयहरुले सिट क्षमताभन्दा दोब्बर विद्यार्थी कोचेर मानवीयताकोसमेत ख्याल नगर्ने गरेको पाइएको छ । अझ कतिपय विद्यार्थीहरु उभिएरै विद्यालय जान बाध्य छन् । अभिभावकहरुले विद्यालयलाई यातायात बापतको टुट्टै रकम बुझाउने गरेपनि विद्यार्थीले दैनिक सकसपूर्ण यात्रा गरिरहेका छन् । ‘मैले सिट पाएको रेकर्ड छैन, वीरेन्द्रनगरकै एक निजि विद्यालयमा कक्षा– ८ मा पढ्ने एक छात्राले भनिन्, ‘हामीले कुनै दिन पनि सिट पाएको रेकर्ड छैन ।’

यसरी विद्यार्थीले दैनिक सकस भोगिरहँदा न नियमनकारी निकायलाई कुनै वास्ता छ नत अभिभावकलाई नै । अझ मन्टेश्वरी जाने साना बालबालिकालाई त सासफेर्नै ग्राहो हुने गरि कोचिन्छ भ्यानमा । स्कुल बसमा आधारभूत तहको लागि प्रति सिट १ः१.५ विद्यार्थी भन्दा बढी हुनुहुँदैन । दुई सिटमा चार–पाँचजनासम्म राख्छन् । यो संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ विपरीत हो ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख हर्कबहादुर रावलका अनुसार सवारी साधन दुर्घटना हुनुको मुख्य कारण बसले क्षमता भन्दा बढी यात्रु बोक्नु हो । उनले स्कुल बसहरुमा चेक गर्दा अधिकांश विद्यालयका बस तथा भ्यानहरुमा सिट क्षमताभन्दा बढि विद्यार्थी राख्ने गरिएको पाइएको बताए । उनले भने, ‘ हामीले कारबाही गर्ने चालकलाई हो । चालकले ट्राफिक नियम उल्घंन गर्दा कारबाही गर्ने गरिएको छ । विद्यालयलाई कारबाही गर्न मिल्दैन ।’ उनले मानवीयताका हिसाबले पनि स्कुल बसमा यसरी विद्यार्थी राख्न नहुने बताए । सवारी साधन जस्तो मेशिनरी चिजमा खेलाचि गर्दा दुर्घटनाको जोखिम हुने भन्दै अभिभावक र शिक्षकहरु यस्ता विषयमा गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

जिल्ला शिक्षा कार्यालयले प्रहरीसँगको सहकार्यमा मापदण्ड कार्यान्वयन भएनभएको अनुगमन गर्नुपर्नेमा त्यसो गर्ने गरेको छैन । जिल्ला शिक्षा अधिकारी दिपा हमालले विद्यार्थीसँग जोडिएको विषय भएकाले मापदण्ड विपरीत स्कुल बस सञ्चालन गर्ने विद्यालयहरुलाई सतर्क गर्ने गरिएको दाबी गरिन् ।
मापदण्ड निर्देशिकामा विद्यार्थी बोक्ने स्कुल बस सुन्तला रंगको हुनुपर्ने, भाडामा प्रयोग गरिने सवारी साधनमा स्कुल बस चिनिने गरी विद्यार्थी बोकेको सवारी साधन शब्दावली प्रयोग गर्नुपर्ने, बस, मिनिबस, माइक्रोबस, जीप, सवारी साधनको नियमित मर्मत सम्भार गर्नुपर्ने, भ्यान भन्दा बाहेक विपरीत दिशामा सिट फर्काइएको सवारी साधन प्रयोग गर्न नपाउने उल्लेख छ । सवारी साधनका चालक तथा सहायकको आचारसंहिता बनाई लागू गर्नुपर्ने, सरकारबाट भन्सार÷राजस्व छुट पाएको विद्यालयको सवारी साधनमा ‘नेपाल सरकारबाट भन्सार÷राजस्व छुट पाएको’ लेखिएको हुनुपर्ने लगायतको व्यवस्था गरिएको छ ।

यता निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन सुर्खेतका अध्यक्ष नैनसिंह खत्रीले अधिकांश विद्यालयले बसमा क्षमताभन्दा बढि विद्यार्थी बोक्ने नगरेको दाबी गरे । उनले भने, ‘एक दुई विद्यालयले त्यसो गरेका होलान् । विद्यालयका पनि बाध्यता छन् ।’ उनले विद्यार्थीबाट यातायात शुल्क कम लिएका तथा भाडामा चलाएका स्कुल बसहरुले सिटभन्दा केही संख्यामा बढि विद्यार्थी बोकेको हुन सक्ने बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया