नेपालमा विश्वविद्यालय खोल्ने योजना

बाबा रामदेवका सहयोगी तथा पतञ्जली आयुर्बेद लिमिटेडका प्रबन्ध निर्देशक नेपालीमूलका आचार्य बालकृष्णले नेपालको शिक्षा, स्वास्थ्य र ऊर्जावान् युवा क्षेत्रमा लगानी गर्ने आफ्नो योजना रहेको खुलासा गरेका छन्।
भारतका पचास धनी व्यक्तिहरूको सूचीमा हालै उनको नाम सार्वजनिक भएपछि उनी चर्चामा छन्। विश्वविख्यात पत्रिका फोब्सले उनीसँगग साढे २ खर्बभन्दा बढी सम्पत्ति रहेको जनाएको छ।

hqdefaultबुधबार बिबिसी नेपाली सेवासँग अन्तर्वार्ताका क्रममा नेपालको स्याङ्जा जिल्लामा जन्मेका गरिब किसानका छोरा बालकृष्णले चाँडै नै वीरगञ्जमा ठूलो उद्योगको उद्घाटन हुन गइरहेको सुनाए तथा आफ्नो लक्ष्य र भावनात्मक लगाव नेपालमै रहेकोले केही गर्न लागिरहेको बताए।

‘विश्वविद्यालय, कलेज वा विद्यालयहरू खोल्नका लागि सोच बनाइरहेको छु, नेपालका युवा शक्तिका लागि खेलक्षेत्र तथा विभिन्न क्षेत्र छन् जसले नेपालको झन्डा फहराउन सक्छ, त्यस्तो क्षेत्रलाई अगाडि बढाउन चाहन्छु,’ उनले भने, ‘जडिबुटीको योजानलाई अगाडि बढाएर विधिवत् रुपमा काम थाल्ने छु।’

उनले नेपालको कृषिक्षेत्रमा पनि लगानी गर्न तयार रहेको बताएका छन्। सबभन्दा पहिले नेपालमा रहेका गाईको नश्लसुधारमा ध्यान दिने बताए। ‘नेपालमा साना–साना गाई छन्, मुस्किलले आधा किलो दूध दिन्छन्, त्यसलाई नश्ल सुधार गरेर पाँच दस केजी दुध दिने बनाउने सम्भावना छ, उद्योगको सम्भावना छ, जे–जे सम्भावना छन् हुनसक्छ, त्यही गर्छु।’ उनले नेपालको समृद्धिका लागि आफूले काम गर्न खोजेको र स्वास्थ्य, शिक्षाका निम्ति लाग्ने बताए।

भारतमा मजदुरी गर्न परिवार गएका बेला ४४ सालअघि उनी जन्मेका थिए। उनको बाल्यकाल स्याङ्जामै बितेको थियो। शास्त्रीय विद्यामा सानैदेखि रुची भएको र त्यसको सिलसिलामा भारत गएका बखत बाबा रामदेवसँग भेट भएको उनले बताएका छन्। ‘२७/२८ सालपहिले बाबा रामदेवसँग मेरो भेट भएको हो, त्यहाँदेखि हाम्रो दोस्ती चलिरहेको छ,’ उनले भने।

धनाढ्य व्यक्तिको सूचीमा पर्दा उनी खुसी छन्। कम्पनीको ब्राण्डका आधारमा यति ठूलो मूल्यांकन आफैंमा ठूलो कुरा भएको उनले बताए। यसमा उपभोक्ता जति छन् उनीहरूको योगदान रहेको सुनाए।
‘हामी काम गरिरहेका छौं, टिम छ, भावना र ऊर्जा छ हामीसँग,’ उनले भने, ‘बिहानदेखि बेलुकासम्म म आफैं काम गर्छु। प्रशासन, व्यवस्थापन र नीति सबै हेर्छु।’

बिबिसी अन्तर्वार्ता लिन उनीकहाँ पुग्दा उनको कार्यकक्षमा एउटा कम्प्युटर थिएन। यतिठूलो कम्पनी सञ्चालन गर्ने व्यक्तिको कार्यकक्षमा एउटा कम्प्युटर पनि छैन नि? भन्ने प्रश्नमा उनले भने, ‘मेरो मस्तिष्क नै कम्प्युटर हो।’

उनले कम्पनीमा हजारौं कम्प्युटर, ल्यापटप र आफूसँग टिम रहेको उनले बताए। आफू आवश्यकताअनुसार सहयोग लिने गरेको र म टिमबाट सल्लाह सुझाव लिने गरेको बताए।

उनले आफूहरू हामी बहुराष्ट्रिय कम्पनीको सोच कुनै पनि देशमा गएर त्यो देशलाई आफ्नो बजार सम्झने कार्यको बिरोधी रहेको बताए। ‘हाम्रो चाहना के हो भने गुणस्तरीय उत्पादन हुनुपर्छ, सस्तो मूल्यमा पाइनुपर्छ र उत्पादनको फाइदा किसानहरूलाई ज्यादा दिनुपर्छ भन्ने हो,’ उनले भने। सेताेपाटीबाट




फेसबुकबाट तपाईको प्रतिक्रिया