सुर्खेत, १४ साउन ।
सुर्खेतको भेरीगंगा नगरपालिका –९ जहरेमा रहेको मूलपानी कृषि तथा पशु सहकारी संस्था किसानको सहयोगी बनेको छ । किसानले उत्पादन गरेको कृषिजन्यवस्तुलाई बजारीकरण गर्न सहकारीले सहयोग गदै आएको छ । आठवर्ष अघि स्थापना भएको सहकारीले किसानलाई सहुलियत दरमा मलबीउ वितरण गर्नेदेखि व्यापारीसँग सम्वन्ध जोडने र किसानको हकहितको पक्षमा पैरवी पनि गदै आएको छ ।
गतवर्ष बजार नपाएर समस्या परेका रामघाटका आँप किसानलाई यसपाली सहकारीले आँपलाई विक्री गर्न सहयोग गरेको छ । बजारको ग्यारेन्टी नहुँदा रामघाटका किसानलाई गतवर्ष आँप बेच्न समस्या भएको कुरालाई ध्यानमा राखेर यसपाली सहकारीले आँपको बजारीकरणमा सहयोग गरेको सहकारी संस्थाका अध्यक्ष रघुबीर मिजारले बताउँनु भयो । पाँच सय ५० हेक्टर मध्ये दुई सय ५० हेक्टरमा उत्पादित आँप विक्री गर्न सहकारीले सहयोग गरेको उहाँले उल्लेख गर्नुभयो ।
यसपाली सहकारीमा आवद्ध किसानले उत्पादन गरेको एक सय ५० टन आँप जुम्ला, मुगु, कालिकोट, जाजरकोट, बीरेन्द्रनगर, कोहलपुर, नेपालगंजलगायतका बजारमा लिएर विक्री गरेको छ । घरबाटै आँप विक्री गर्न पाएपछि किसान पनि खुशी भएका छन । गतवर्ष आँपले बजार नपाउँदा हैरान भएका किसानको आँप यसपाली सहकारीले औषतमा प्रतिकेजी २५ रुपैयामा किनेको थियो । सहकारीमा आवद्ध दुई सय किसानको आँप विक्री गर्न सहयोग गरियो सहकारीका अध्यक्ष मिजारले भन्नुभयो, गतवर्ष बजार नपाएर आँप कुहिएर खेर गयो, यसपाली किसान पनि संगठित भए, सहकारीले आँप बजारीकरणमा सहयोग गरेपछि उनीहरु खुशी भएका छन ।
यस्तै मूलपानी कृषि तथा पशु सहकारी संस्थाले रामघाटमा फलफूल प्रशोधन केन्द्र स्थापना गर्ने योजना पनि बनाएको छ । आँपको जुसलगायतका परिकार बनाउन सहकारीले प्रशोधन केन्द्र बनाउने योजना बनाएको त्यसमा कर्णाली प्रदेश सरकारले पनि सहयोग गर्ने बचन दिएको अध्यक्ष मिजारले जानकारी दिनुभयो ।
सहकारीले आँपको पकेट क्षेत्र रामघाटलाई आँपको जोनको रुपमा विकास गर्न पनि पहल गरिरहेको छ । रामघाटलाई आँपको जोनको रुपमा विकास गर्न सके आँप उत्पादनमा बृद्धि हुने र किसानको जीवनस्तरमा पनि उल्लेख सुधार आउने उहाँले बताउँनु भयो । अहिले सहकारी संस्थाले मिश्रीत खेतीको रुपमा आँपसँगसगै बेसार खेती गर्न समेत किसानलाई प्रोत्साहन गरिरहेको छ ।
स्थापना भएको छोटो समयमै सहकारी किसानको हितमा उल्लेख कामहरु गर्न सफल भएको दावी पनि अध्यक्ष मिजारले गर्नुभयो । ८० जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा अहिले ५ सय ५४ जना शेयर सदस्य छन । सहकारीको कुल कारोवारो एक करोड २० लाख रहेको छ । ९ हजार शेयर पुँजीबाट सुरु भएको सहकारीमा अहिले शेयर पुँजी ११ लाख रुपैया पुगेको छ । सहकारीसँग किसानहरुले उत्पादन गरेको कृषिजन्य बस्तुलाई ढुवानी गर्न मिनी ट्रक र जोत्नको लागि ट्याक्टर पनि छ । मिनी ट्रक किन्नको लागि सहकारीलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग गरेको बताएको छ ।
राराखबर । २०७५, १४ श्रावण सोमबार