सुर्खेत, १४ पुष ।
अमेरिकामा रहेकी युवा समाजसेवी जयन्ती थापाले सुर्खेतको एक विद्यालयमा अध्ययनरत गरिव तथा विपन्न विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेकी छन ।
लामो समयदेखि समाज सेवामा सक्रिय उनले लेखवेसी नगरपालिका ७ कल्याणको लक्ष्मी निम्न माध्यामिक विद्यालयका ५० जना विद्यार्थीलाई स्वीटर सहयोग गरेकी हुन । जयन्तीको तर्फबाट उनका बुवा धर्मजंग थापाले विद्यालयमै पुगेर विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेका हुन ।
विद्यालयका प्रधानाध्यापक तेजप्रसाद पंगालीले सामाजिक संजाल फेसबुक मार्फत सहयोगको आग्रह गरेपछि थापाले विपन्न बालबालिकालाई न्यानो कपडा सहयोग गरेको बताए ।
न्यानो कपडा वितरण गदै लेकवेसी नगरपालिकाकी उपप्रमुख शान्तिकुमारी छन्तेलले समाजसेवी थापाको सहयोगले नगरपालिकालाई पनि ठुलो प्रेरणा मिलेको बताइन ।
यस्तै लेकवेसी नगरपालिका शिक्षा शाखा प्रमुख पहल अधिकारीले दुर्गम गाउँका विद्यार्थीलाई सहयोग गरेर थापाले ठुलो गुण लगाएको बताए । विद्यालयका प्रधानध्यापक पंगालीले न्यानो कपडा पाएपछि विद्यार्थी र अभिभावक दुवै खुशी भएको बताए ।
समाजसेवी जयन्ती थापाले प्रदेशका विभिन्न विद्यालयका अतिविपन्न तथा गरिव २० जना बालबालिकालाई पढाउदै आएकी छन । गरिव तथा विपन्न बालबालिकाको पढाईका साथै क्यान्सर, पक्षघातबाट पीडित विपन्न नागरिक, सुस्तमनस्थीति र दृष्टिविहीन बालबालिकालाई आर्थिक सहयोग गदै आएकी छन ।
राराखबर । २०७५, १४ पुष शनिबार