डेमोक्रेटिक पार्टीबाट अमेरिकी राष्ट्रपतिमा पाँच महिलाको दाबी

सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनाव हिलारी क्लिन्टनले जितिनन्। डेमोक्रेटिक उम्मेदवार हिलारीले चुनाव नजिते पनि मतदाताको मन जितिन्। राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पभन्दा झन्डै तीस लाख बढी लोकप्रिय मत पाइन्। डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उम्मेदवार बनेरै हिलारीले इतिहास रचेकी थिइन् किनकी उनी राष्ट्रपतिको  चुनाव लड्ने पहिलो अमेरिकी महिला हुन्।

हिलारीको त्यो पराजयबाट अमेरिकी महिला राजनीतिप्रति निराशा भएनन्, सायद झन् धेरै ठूलो शक्ति पाए। यसको उदाहरण हो, सन् २०२० मा हुने राष्ट्रपतीय चुनावका लागि महिलाहरूले दिइरहेको उम्मेदवारी।

डेमोक्रेटिक पार्टीमा राष्ट्रपति उम्मेदवारको प्राइमरी चुनाव हुन वर्ष दिन बाँकी छँदै पाँच महिला सिनेटरले अमेरिकाको भावी राष्ट्रपतिमा आफ्नो दाबी पेस गरेका छन्। अहिलेसम्म तुलसी ग्याबर्ड, किर्सटिन गिलिब्रान्ड,  एलिजावेथ वारेन, कमला ह्यारिस र एमी क्लोबुचार ३ नोभेम्बर २०२०मा हुने अमेरिकी राष्ट्रपतिको ५९ औं चुनावमा  डेमोक्रेटिक उम्मेदवार बन्न मैदानमा आएका छन्। यो सूचीमा अरू पनि थपिन सक्छन्।

पृष्ठभूमि, उमेर समूह, वर्ग, क्षेत्र र पेशा फरक फरक भएका यी उम्मेद्वारले आफ्नो उम्मेदवारीमा महिलाका मुद्दामात्र केन्द्रमा राखेका छैनन् बरू अमेरिकी समाजका विस्तृत र विविध मुद्दामा आफूलाई केन्द्रीत गरेका छन्।

तुलसी ग्याबर्ड ३७ वर्षकी भइन्। उनी सन् २०१३ देखि हवाईबाट कंग्रेसमा प्रतिनिधित्व गरिरहेकी छन्।

किशोर अवस्थादेखि नै सामाजिक कार्यमा संलग्न तुलसी २१ वर्षको उमेरमा हवाइको राज्यसभा सदस्य निर्वाचित भएकी थिइन्।

सन् २००१ को ट्वीनटावर आक्रमणपछि तुलसी अमेरिकी सेनामा भर्ना भइन्।

सन् २००४ मा दोस्रो कार्यकालका लागि चुनाव लड्ने तयारी गरिरहेका बेला तुलसीको पल्टन इराकमा पठाइने भयो।  त्यो पल्टनबाट इराकमा खटिने  सूचीमा उनको नाम थिएन। तर पनि तुलसीले दोस्रो कार्यकाल चुनाव लड्नुभन्दा आफ्ना सहकर्मीसँग इराक जाने निर्णय गरिन्।

३१ वर्षको उमेरमा उनले कंग्रेसमा लड्ने निर्णय गरिन्। त्यतिबेला उनलाई धेरैले कंग्रेसका लागि कच्चा उमेर भएको, अनुभव नपुगेको भन्दै उपयुक्त समय नभएको बताए। तुलसीले उनीहरूका कुरा सुनिनन् बरू आफ्नो चुनावी अभियानलाई अघि बढाइन्। र चुनाव जितेरै छोडिन्। कंग्रेसमा उनले घरेलु सुरक्षा र परराष्ट्र मामिला समितिमा बसेर काम गरेकी छन्।

राष्ट्रपतिको उम्मेदवार घोषणा गरेकी किर्सटिन  गिलिब्रान्ड  ५२ वर्षकी भइन्।  उनी सन् २००९ देखि न्यूयोर्कबाट सिनेटर छिन्।

किर्सटिन २ पुस्तककी लेखिका पनि हुन्। सन् २०१४ मा उनको  पुस्तक अफ द साइडलाइन्स: स्पिक अप, बी फेयरलेस एन्ड चेन्ज योर वर्ल्ड प्रकाशित भएको थियो। सन् २०१८मा उनको दोस्रो पुस्तक ‘बोल्ड एन्ड ब्रेभ: टेन हिरोज हु वन विमन द राइट टु भोट’ प्रकाशित भएको थियो।

वकिल बनेर करियर सुरू गरेकी किर्सटिनले पछि पेशा परिवर्तन गरेर आवास र शहरी विकास मन्त्रालयमा  काम गरिन्। सन् २००६ मा उनी कंग्रेसको चुनाव लडिन् र जितिन् पनि।

उनको वेवसाइटका अनुसार किर्सटिनले पारदर्शिता, आर्थिक वृद्धि, रोजगारी र सस्तो स्वास्थ्य सेवा र महिला सशक्तिकरणका मुद्दामा काम गरिरहेकी छन्।

अमेरिकी राष्ट्रपतिकी अर्की दाबेदार एलिजाबेथ वारेन ६९ वर्षकी भइन्। उनी म्यासाच्युसट्सबाट  सन् २०१३ देखि सिनेटर छन्। निम्न मध्यम वर्गीय परिवारमा जन्मिएकी वारेनले पैसाको अभावमा विश्वविद्यालयको शिक्षा पूरा गर्न सकेकी थिइन्।

१९ वर्षको उमेरमै विवाह गरेकी वारेनले केटाकेटी हुर्काउँदै विश्वविद्यालयको शिक्षा पूरा गरिन्। पछि उनी कानुनकी प्राध्यापक बनिन्।

रट्गर्स , युनिभर्सिटी अफ ह्युस्टन, युनिभर्सिटी अफ टेक्सास-अस्टिन,  मिसिगन, पेन्सिलभेनिया र  हार्वर्ड युनिभर्सिटीमा उनी तीस वर्षसम्म कानुनकी प्राध्यापक थिइन्। उनी मध्यम वर्गीय परिवारहरूले भोगिरहेको आर्थिक समस्याबारे अमेरिकाकी उत्कृष्ट विज्ञमध्ये पर्छिन्। वाणिज्य कानुन, सम्झौता कानुनमा उनी अमेरिकाकै प्रतिष्ठित कानुनवेत्ता हुन्।

५४ वर्षीया कमला ह्यारीस राष्ट्रपति दाबी गर्ने अर्की महिला हुन्। कानुन पढेकी कमला सन् २००४ मा  सान फ्रान्सिस्कोको जिल्ला न्यायाधीवक्ता थिएन्।  २०११ पछि उनले क्यालिफोर्निया राज्यकी न्यायाधीवक्ताका रूपमा काम गरिन्। यो पदमा पुग्ने उनी पहिलो अफ्रिकन अमेरिकन महिला हुन्।

सन् २०१७ सम्म उनी क्यालिफोर्नियाबाट सिनेटर पनि थिइन्।  सांसद हुँदा उनले न्यायीक समिति,  घरेलु सुरक्षा,  सरकारी मामिला, बजेट समितिमा बसेर काम गरेकी थिइन्।

राष्ट्रपति ट्रम्पलाई उनकै शैलीमा जवाफ दिन कमला निकै आक्रामक भएको कतिपयको बुझाइ छ।

मिनेसोटाबाट सिनेटर रहेकी ५८ वर्षीया एमी क्लोबुचार आगामी अमेरिकी राष्ट्रपतिकी अर्की दाबेदार हुन्। उनको पृष्ठभूमि पनि कानुनकै हो। सन् २००६ मा उनी पहिलो पटक सिनेटर बनेकी थिइन्। उनले ग्लोबल वार्मिङलगायत कुरालाई आफ्नो चुनावी एजेन्डा बनाएकी छन्।

हिउँ परिरहेको सेताम्य मञ्चबाट सोमबार उनले राष्ट्रपति उम्मेदवार बन्ने घोषणा गरेकी थिइन्।

उनको त्यो घोषणालगत्तै राष्ट्रपति ट्रम्पले ट्वीट लेखे-  लौ, यो फेरि भयो। एमी क्लोबुचरले हिउँको तुफान आइरहेका बेला, कठ्यांग्रिदो जाडोमा उभिएर गौरवसाथ ग्लोबल वार्मिङको कुरा गर्दै  राष्ट्रपतिको उम्मेदवारी घोषणा गरिन्। कुबेला। भाषणको अन्त्यमा उनी  स्नोम्यान(वुम्यान)जस्तै देखिएकी थिइन।

जवाफमा एमीले भनेकी छन्- विज्ञान मेरो पक्षमा छ, डोनाल्ड ट्रम्प।  ग्लोबल वार्मिङलगायत अरू थुप्रै कुरामा तपाईंसँग बहस गर्न आतुर छु। त्यो  हिउँसहितको तुफानमा तपाईंको कपालको हालत के होला?सेतोपाटीबाट




फेसबुकबाट तपाईको प्रतिक्रिया