राष्ट्रिय योजना आयोगको सदस्यमा जुम्लाका डा. महत नियुक्त

सुर्खेत ।  राष्ट्रिय योजना आयोगको सदस्यमा जुम्लाका डा. कुसेन्द्र बहादुर महत नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले महत सहित ४ जना सदस्य नियुक्त गरेको सरकारी प्रवक्ता समेत रहेकी सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले बताइन।

सरकारले नियुक्त गरेका अन्य सदस्यमा काठमाडौँकी प्रा. संगीता सिंह, ललितपुरका डा. अरनिको पाण्डे र पाल्पाका प्रा. शिवराज अधिकारी रहेका छन्। उनीहरु नयाँ सत्ता गठबन्धनको भागबन्डाका आधारमा नियुक्त गरिएका हुन। उनीहरु नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको सिफारिसमा नियुक्त गरिएको बताइएको छ।

सत्ता गठबन्धन बदलिएसँगै आयोगका पुराना ४ जना सदस्यले राजीनामा दिए पछि रिक्त रहेको स्थानमा उनीहरूलाई नियुक्त गरिएको हो। राजीनामा दिएका आयोगका सदस्यहरू डा. आरपी बिच्छा, डा. प्रभु बुढाथोकी, डा. अनिता शाह ढुङ्गाना र डा. जयकान्त राउत थिए। उनीहरु नेपाली काँग्रेस र जनमत पार्टीको कोटामा नियुक्त भएका थिए।

योजना आयोगमा एक उपाध्यक्ष र एक महिलासहित ६ जना सदस्य रहने व्यवस्था भएकोमा यस अघिको सरकारका पालामा त्यसलाई बढाएर एक महिलासहित सात सदस्य रहने निर्णय गरेको थियो।

प्रधानमन्त्री अध्यक्ष रहने योजना आयोगमा उपाध्यक्षमा मीन बहादुर श्रेष्ठ छन्। उनी पुष्पकमल दाहाल प्रधानमन्त्री भए लगतै नियुक्त गरिएका थिए। आयोग अन्य सदस्यका रूपमा राम कुमार फुयाँल रमेशचन्द्र पौडेल र उमाशंकर प्रसादले काम गर्दै आएका छन्।




फेसबुकबाट तपाईको प्रतिक्रिया