सीप सिक्दै आत्मनिर्भर बन्दै जुम्ली महिलाहरु


दिपेन्द्र शर्मा
सुर्खेत
तिला– १, रारा गाउँ जुम्लाकी २४ वर्षकी सुलचना दमाई सिलाइकटाइमा आत्मनिर्भरताका धेरै सम्भावना देखेरै तालिम लिइरहेको बताउँछिन् ।
पेटिकोट, टोपी, कुर्ता ,सुरुवाल, भोटा,बछा, र म्याक्सी सिलाउन सिकेको छु, उनी भन्छिन्, अब आत्मनिर्भर हुन्छु होला ।
जुम्लाको तिला गाउँपालिकाका महिला सीप सिक्न उत्साही बनेका छन ।
उनलाई तिला गाउँपालिकाको समन्वयमा किडार्क नेपाल जुम्ला र वल्डभिजन इन्टरनेशनलले स्तरउन्नतीको लागि सिलाई कटाई सीप सिकाई रहेका छन् ।
कमजोर आर्थिक अवस्था भएका महिलाहरुका लागि आत्मनिर्भर बनाउने उदेश्यले दिइएको ३ सय ९० घण्टाको सीपमुलक तालिममा सुलोचनासहित १८ जना महिला सहभागी छन् ।
तिला– ७, पोखरी गाउँकी २५ वर्षकी गोइली रोकायाले गाउँमै स्वरोजगार बन्ने सपना बोकेर सिलाइ कटाइ सीप सिकेको बताइन ।
दौरा सुरुवाल, कुर्ता सुरुवाल, ब्लाउज, सर्ट, फ्रक, पेटिकोट लगायत सिलाउने सीप हासिल गरे सकेपछि उनी अव गाउँमै टेलरिङ सेन्टर खोल्ने तयारीमा रहेकी छन् ।


‘गाउँमा अहिले सिलाइ कटाइको राम्रो बजार छ,’ रोकायाले भनिन्, ‘राम्रो डिजाइनमा लुगा सिलाउन सके यसैबाट स्वरोजगार बन्न सकिने सम्भावना छ ।
३५ वर्षकी तारा नेपाली गाउँमा सिलाइ कटाइको राम्रो माग छ, अब यहीबाट राम्रो आम्दानी गर्न सकिन्छ ।
सिलाई कटाई सीप सिकी रहेकी हरिदेवी बुढा शाही पनि सिलाइ कटाइ सीप सिकेर केही गर्न सक्छु भन्ने आँट पलाएको बताउँछिन् ।
उनी भन्छिन्, घरमै बसेर पनि लुगा सिलाएर जीविकोपार्जन गर्न सक्छु, भन्ने प्रेरणा मिलेको छ ।
तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुरथापा गाउँका मान्छेले लगाउने लुगा गाउँमै सिलाउने थप सिप दिए महिलालाई आत्मनिर्भर बनाउन सकिन्छ ।
जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्यले सिलाई कटाई सीपले गर्दा दैनिकी नै फेरिने र घरखर्च सञ्चालन गर्न सजिलो हुने उल्लेख गर्छन् ।
सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाई महिलाहरु आत्मनिर्भर हुँदा आत्मसम्मानमा वृद्धि हुनुका साथै जिवनस्तरमा पनि सुधार आउने दावी गर्छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया