
सुर्खेत
मानवसेवा आश्रम सुर्खेतले आर्थिक बर्ष २०७९/०८० को बार्षिक र २०८०/०८१ को अर्ध वार्षिक आयव्याय विवरण र प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।
सोमबार बीरेन्द्रनगरमा पत्रकार सम्मेलनमार्फत सामाजिक लेखा परिक्षण तथा प्रगति प्रतिवेदन सार्वजानिक गरिएको हो ।
अघिल्लो आर्थिक बर्षमा मानवसेवा आश्रम सुर्खेत शाखलाई ८१ लाख ३४ हजार ९७ रुपैया १४ पैसा सहयोग प्राप्त भएको छ ।
गत आर्थिक बर्ष आश्रममा ९० लाख ३८ हजार २ सय ४७ रुपैया ४६ पैसा खर्च भएको बताएको छ ।
गतबर्ष आश्रमलाई करिव १० लाख रुपैया घाटा भएको थियो ।
यस्तै चालु आर्थिक बर्षको पौष मसान्त सम्ममा २३ लाख ६७ हजार ८ सय २१ रुपैया आम्दानी भएकोमा ३० लाख ३७ हजार ६ सय ५१ रुपैया ६६ पैसा खर्च भएको छ ।
पौष मसान्त सम्मको खर्च विवरण अनुसार पनि आम्दानी भन्दा खर्च धेरै भएको बताएको छ ।
कार्यक्रममा मानव सेवा आश्रम सुर्खेतले हालसम्म ३२४ जनाको उद्धार सडक पेटीमा रहेका मानिसहरुको उद्धार गरेको छ ।
उनीहरु मध्ये १३३ जनाको पारिवारीक पुनर्मिलन र २२ जनाको सामुदायिक पुर्नस्थापना गरिएको आश्रमले जनाएको छ ।
यस्तै ५३ जनालाई अल्पकालिन सेवा, ७ जनाको पूर्ण उद्धार, २९ जनालाई स्थानान्तरण गरिएको छ भने यो अवधिमा २८ जनाको निधन भएको छ ।
आश्रममा अहिले ८८ जना आश्रित रहेका छन् ।

चालु आर्थिक बर्षको साउन महिनादेखि अहिलेसम्म मानवसेवा आश्रम सुर्खेत शाखाले थप ४७ जनाको उद्धार गरेको छ ।
८ जनाको पारिवारिक पुनर्मिलन, ६ जना स्वइच्छाले आश्रम छोडने र २९ जना स्थानातरण गरिएको र ३ जनाको निधन भएको बताएको छ ।
कार्यक्रममा मानवसेवा आश्रम कर्णाली प्रदेशका संयोजक सञ्जीता गौतमले मानव सेवा आश्रमलाई धेरैले माया गरेर सहयोग गरिरहनु भएको बताइन ।
मानव कल्याणको लागि आश्रमलाई धेरैले सहयोग गरिरहनु भएको छ, उनले भनिन्, घाटा नाफा भन्दा पनि संस्थालाई हृदयदेखि नै सहयोग गर्ने कुरा नै ठुलो हो ।
सामाजिक लेखा परिक्षण तथा प्रगति प्रतिवेदन सार्वजानिक कार्यक्रममा वडा नम्वर ११ का वडाध्यक्ष खिमलाल देवकोटा, १ का वडाध्यक्ष दिनेश खत्री, मानव सेवा आश्रमका अभिभावक तथा सामाजिक अभियन्ता डा. नवराज केसी, मानव सेवा आश्रमका अभिभावक टीकाराम चपाई, सामाजिक विकास मन्त्रालयका महिला तथा जेष्ठ नागरिक महाशाखा प्रमुख अनिता ज्ञवाली, बीबीसीका पत्रकार प्रकाश पन्त, सामाजिक अभियन्ता महेन्द्र थापा, गणेश कार्कीलगायतको सहभागीता थियो ।
राराखबर । २०८०, १२ चैत्र सोमबार