खडेरीले जाजरकोटमा खाध्यान्न  सङ्कट निम्तिने डर

दिपेन्द्र शर्मा

जाजरकोट

जाजरकोट जिल्लामा हालैको खडेरीका कारण खेतबारीमा बालीहरू सुकेका छन् ।  जसले गर्दा स्थानीय किसानहरूमा चिन्ता बढेको छ। यो याम किसानहरूका लागि मकैदेखि अन्य बालीहरू लगाउने समय हो ।  तर वर्षा नभएपछि खेतीयोग्य जमिन सुक्खा भएको छ र सिँचाइको कुनै सुविधा नहुँदा बाली सुकेका हुन ।

स्थानीय किसानहरूले बताए अनुसार, “पानी परेको छैन, खेतबारी सुक्खा छन्। सिँचाइको कुनै सुविधा छैन। जाजरकोटमा अहिले खाध्यान्न  सङ्कट आउने हो कि भन्ने चिन्ता थपिएको छ।

पानीको अभावले गर्दा रोपाइँमा समस्या भइरहेको छ। विगतका वर्षहरूमा जेठको अन्त्यसम्म जिल्लाका अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको हुन्थ्यो, तर यस वर्ष पानी नपर्दा भेरी, नलगाड, बारेकोट गाउँपालिका लगायत अन्य स्थानका किसानहरूले रोपाइँ गर्न सकेका छैनन्।

आकासे पानीको भरमा निर्भर किसानहरूले यस वर्ष खेतमा रोपाइँ गर्न नसकेको बताएका छन्। यो स्थितिले खाध्यान्न संकट निम्त्याउने सम्भावना रहेको भन्दै किसानहरूमा ठूलो चिन्ता देखिएको छ।

स्थानीय बताउछन, प्रशासनले यथाशीघ्र सिँचाइको व्यवस्था गर्न सके, किसानहरूको चिन्ता केही हदसम्म कम हुनसक्छ कि भन्ने रहेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया