सुर्खेत । कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपानेले जनप्रतिनिधिहरुलाई जिम्मेवार र उत्तरदायी बनाउन सञ्चारकर्मीको महत्वपूर्ण हुने बताएकी छिन् । सोमबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भएको संसदीय रिपोर्टिङ्ग सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै उपसभामुखले यस्तो बताएकी हुन् ।
“जनताका प्रतिनिधिहरुलाई आफ्नो जिम्मेवारी र दायित्वप्रति सचेत बनाउन समेत संसदीय मामिलाका क्षेत्रमा काम गर्ने पत्रकारहरु क्षमतावान र सक्रिय हुनु नितान्त आवश्यक हुन्छ” उनले भनिन्, “सरकारका तीन अङ्ग मध्येको एक अङ्ग व्यवस्थापिकाको यथार्थ अवस्था चित्रण गर्ने र जनतालाई सु–सुचित गर्ने महत्वपूर्ण काम पत्रकारिताले गर्दछ ।”
संसदका विषयहरु बढी प्रक्रियागत र उच्च संवेदनशिल हुने भएकाले यस क्षेत्रमा क्रियाशिल पत्रकार बढी चनाखो हुनु आवश्यक रहेको बताउँदै उनले हालसम्म पनि व्यवस्थापिकाको क्षेत्रमा खोजी पत्रकारिताको विषय कमजोर रहेको बताउँदै तालिमले खोज पत्रकारितालाई समेत वृद्धी गर्ने आशा व्यक्त गरिन् ।
जनताको मताधिकार पाएका जनप्रतिनिधिले गरिरहेका कामको बारेमा आम सञ्चार माध्यमबाट नागरिकलाई जानकारी गराउनु निकै ठूलो जिम्मेवारीपूर्ण काम भएको बताउँदै उनले संसदीय पत्रकारिले विवेकपूर्ण तवरले काम गर्नुपर्ने बताइन । साथै उपसभामुख न्यौपानेले कर्णाली प्रदेश सभाले खुला संसदको अभ्यासलाई निरन्तरता दिएको जानकारी दिइन् ।
त्यस्तै नेपाल पत्रकार पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले पनि संसद र जनप्रतिनिधिहरुलाई नागरिकप्रति उत्तरदायी र जवाफदेही बनाउन महत्वपूर्ण भूमिका हुने बताए । उनले संघीयतापछि कर्णालीमा पनि बिट पत्रकारिताको विकास बताउँदै यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।
“संघीयतापछि कर्णालीमा पनि बिट पत्रकारिताको विकास भएको छ” उनले भने, “तर संसदमा पत्रकारको उपस्थिति निकै पातलो छ, यसलाई बढाउनुपर्छ ।”संसदीय रिपोर्टिङ्गका लागि संसद र सञ्चारकर्मीबीच समन्वय प्रभावकार हुनुपर्ने बताए ।
त्यस्तै यूएनडीपीको संसद सहयोग परियोजनाको आर्थिक सहयोगमा संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशको आयोजना तालिम भएको हो । तालिको उद्देश्यमाथि जानकारी दिँदै ससद सहयोग परियोजना (पीएसपी) का कार्यक्रम संयोजक क्यारिन श्रेष्ठले पीएसपीले कर्णाली प्रदेश स्थापनकालदेखि कर्णाली प्रदेश सभा र सञ्चारकर्मीलाई जोड्ने पुलको रुपमा काम गरेको जानकारी दिइन् ।
विगतका वर्षहरुमा पीएसपी आफैले प्रदेशले गर्ने काम कारवाहीलाई आम नागरिकसँग लैजान र प्रदेशसभाका गतिविधिलाई चलायमान गराउन विभिन्न गतिविधिहरु गर्दै आएकोमा पछिल्लो समय स्थानीय पार्टनरसँगको समन्वयमा समेत काम गरिरहेको जानकारी दिइन् ।
संसदीय मालिमासँग पहिलो पटक समन्वय गरेको जानकारी दिँदै उनले आगामी दिनमा समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।
संसदीय रिपोर्टिङ्ग संसदसँग प्रत्येक्ष रुपमा जोडिएका कारण तालिमा उपसभामुख यशोदा न्यौपाने, कर्णाली प्रदेशका सचिव जीवराज बुढाथोकी लगायत सहभागी थिए ।
पहिलो दिन संसदीय मामिला पत्रकार समाज नेपालका पूर्व अध्यक्ष नारायण काफ्लेले सहजीकरण गरेका थिए । आफ्लेले संसदीय रिपोर्टिङ्गका लागि आवश्यक पर्ने आधारभूत ज्ञान र भइरहेको अभ्यासबारे जानकारी दिए ।
संसदीय मामिला पत्रकार समाज कर्णालीका अध्यक्ष देव रानाको आध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव यज्ञ खत्रीले सञ्चालन गरेका थिए । तालिममा सुर्खेतका क्रियाशिल तीन दर्जन पत्रकारहरु सहभागी छन् ।
सन्तोष भण्डारी । २०८१, १२ कार्तिक सोमबार