सुर्खेत । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले महिन्द्रासँग मुख्य प्रायोजनका लागि शुक्रबार सम्झौता गरेको छ ।
कर्णालीको स्वामित्व रहेको हिमालयन बिल्डर्स प्रालि र महिन्द्रा अग्नी ग्रुप बीच शुक्रबार एक कार्यक्रमबीच सम्झौता भएको हो । कर्णालीका तर्फबाट झनक दत्त खनाल र महिन्द्राको तर्फबाट उपाध्यक्ष वेदा सताषा श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका थिए।
कर्णालीमा ज्ञानेन्द्र प्रशिक्षक तथा तीव्र गतिका बलर सोमपाल कामी मार्की खेलाडी रहेका छन् । टोलीका विदेशी खेलाडीमा ओमानका पूर्वकप्तान जिशान मक्सुद, हङकङका बाबर हायत, वेस्ट इन्डिजका चाडविक वाल्टन र भारतका शिखर धवन रहेका छन् । वाल्टन, हायत र मक्सुद नेपाल आइसकेका छन् ।
यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल शनिवारदेखि पुस ६ सम्म हुँदैछ । मंसिर १७ मा जनकपुर बोल्ट्ससँग खेल्दै कर्णालीले लिग सुरुवात गर्नेछ ।
एनपिएलमा कर्णाली याक्सको खेलतालिका
मंसिर १७ गते जनकपुर बोल्ट्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर १९ गते काठमाडौं गुर्खाजविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २१ गते चितवन राइनोजविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २२ गते विराटनगर किंग्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २५ गते पोखरा एभेन्जर्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २८ गते लुम्बिनी लायन्सविरुद्ध बिहान ९ः१५ बजे
पुस १ गते सुदूरपश्चिम रोयल्सविरुद्ध बिहान ९ः१५ बजे
राराखबर । २०८१, १६ मंसिर आईतवार