सुर्खेत
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीव बिक्रम शाहले मानव सेवा आश्रमको भवन निर्माणाको लागि ६ लाख ५१ हजार ११५ रुपैया सहयोग गरेका छन् ।
कर्णाली प्रदेशस्तरीय भवन निर्माणका लागि मानव सेवा आश्रमले गरेको श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको अवसरमा उनले सहयोग गरेका हुन ।
मन्त्रीले दिएको रकमबाट भवनको एक कोठा निर्माण गर्ने र कोठा पनि मन्त्रीकै नाममा राखिने मानव सेवा आश्रमले जनाएको छ ।
थुप्रै सामाजिक र परोपकारी काममा खुलेर सहयोग गर्दै आएका मन्त्री शाहले महायज्ञस्थलमै आएर भवनको एउटा कोठा निर्माणका लागि लाग्ने रकम दिएको महायज्ञ आयोजक मुल समितिका संयोजक डा. नवराज केसीले बताए ।
सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले गरिएको महायज्ञमा साढे ९ करोड रुपैया उठेको र सहयोगको क्रम पनि जारी रहेको संयोजक केसीले उल्लेख गरे ।
मानव सेवा आश्रमले सुर्खेतमा कर्णाली प्रदेशस्तरीय भवन निर्माणका लागि मंसिर २१ शुक्रबारदेखि २८ गतेसम्म श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सञ्चालन गरेको थियो ।
आश्रमको भवन निर्माण गर्न वीरेन्द्रनगर नगरपालिका–११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वनले २९ बिघा जग्गा दिएका छन् ।
करिव पाँच करोड रुपैया संकलन गर्ने लक्ष्य राखिएकोमा अपेक्षा भन्दा बढी सहयोग प्राप्त भएको मुल आयोजक समितिले जनाएको छ ।
महायज्ञ अयोजक समितिका संयोजक डा. केसीले सडकमा रहेका मानिसलाई उद्धार गरेर राख्ने मात्र नभई मानव अध्ययन केन्द्र बनाउने लक्ष्य रहेको बताए ।
भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारले पनि भवन निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ दिने घोषणा गरेको छ ।
करिव २० करोड रुपैया लागत लाग्ने आश्रमको भवन निर्माणका लागि डीपीआर पनि भैइसकेको मानव सेवा आश्रमका सस्थापक रामजी अधिकारीले बताए ।
उनले सरकारको पुँजीले मात्र भवन निर्माण सम्भव नभएकाले समाजको पुँजी पनि लाग्नुपर्ने र पैसा मात्र नभइ सेवा गर्ने हातहरु पनि चाहिएकोले महायज्ञ गरिएको पनि स्पस्ट पारे ।
प्रमुख कथावाचक भागवत भाष्कर कमलनयन गौतमले निशुल्क रुपमा योगदान दिएका छन् ।
आयोजक समितिका अनुसार ५०० देखि १ करोडसम्मको योगदान गर्नेलाई सम्मान गरिएको छ ।
एक करोडको योगदान गर्ने दाताको मानवसेवा आश्रमको कम्पाण्डभित्र निर्माण हुने कुनै पनि ब्लकको नामकरणसहित अर्धकदको शालिक निर्माण गरिने छ ।
यस्तै ५१ लाख ५१ हजारसम्म योगदान गर्नेलाई आश्रमको सभाकक्ष निर्माण गरी सोही कक्षमा शिलालेख गरिने छ भने ३१ लाखसम्म योगदान गर्नेको आश्रमको भान्सा र भोजन कक्षको नामकरण गरी सोही कक्षमा शिलालेख राखिने छ ।
मानव सेवा आश्रमले ०८२ सालभित्र नेपाललाई सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने तयारी थालेको छ ।
त्यो अवधिसम्म देशभर खुल्ला आकाशमुनी रात बिताउन बाध्य बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरुको मानवोचित व्यवस्थापन गरिने मानव सेवा आश्रमका संस्थापक अधिकारीले बताए ।
कोही पनि मानिस भोकै र नाङ्गै रहन नपर्ने अवस्था निर्माण गर्न ०६९ सालदेखिनै काम भइरहेको उनले बताए ।
मानव सेवा आश्रमका अनुसार अहिलेसम्म १० हजार ६८७ जना भन्दा बढी सहयोगापेक्षी बेसहारा सडक मानवको उद्धार गरी मानवोचित व्यवस्थापन गराइसकिएको छ ।
राराखबर । २०८१, १ पुष सोमबार