कर्णालीमा आर्थिक सुशासनको जग बसाल्ने अर्थ सचिव शर्माको बिदाई

सुर्खेत-  कर्णालीमा आर्थिक सुशासनको जग बसाल्ने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रविलाल शर्माको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरुवा भएको छ ।

करिव १३ महिनाजति मन्त्रालयको सचिवको रुपमा काम गरेका शर्माको शुक्रवार मन्त्रालयले विदाई गरेको छ ।

विदाई कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले  सचिव शर्माको राम्रो भिजन र पेशाप्रतिको कर्तव्यनिष्ट व्यवहारले गर्दा  कर्णाली प्रदेशमा  आर्थिक  सुशासनको जग बसाल्न सफल भएको बताए ।

उनले भने, मुख्यसचिवसम्म पुग्न सक्ने क्षमता भएका उहाँमा कुनै खालको लोभलालच छैन ।  मैले पहिलो पटक मन्त्री पद पाउँदा उहाँजस्तो सचिव पनि राम्रै पाए । त्यसैले काम गर्न पनि सजिलो भयो ।

मन्त्री शाहले राष्ट्र सेवक कर्मचारीहरुको सरुवा स्वभाविक प्रक्रिया भएको र सचिव शर्मा त्यहाँ हुनु भनेको कर्णालीको सम्वन्धी डाइरेक्ट रुपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसँग हुनु भएको उल्लेख गरे ।

सचिव शर्माले पनि   मन्त्रीको  नीतिगत मार्ग निर्देशन भित्र रहेर गरिएका आर्थिक सुधार र  आर्थिक सुशासनका कामले  कर्णाली प्रदेशले  काँचुली फेरेको दावी गरे ।

उनले भने, ड्राइभिङ सिट बस्ने मान्छेले  सवैमा ध्यान दिनु पर्छ । एक्सिलेटर, ब्रेक गेयर, क्लोज जुन ठाउँमा जे चाहिन्छ छ, त्यो लगाउनु पर्छ । यदि सन्तुलन मिलाउन सकिएन भने गाडी अघि बढ्दैन ।

सचिव शर्माले  योजना छनौटमा देखिएका बेथितिलाई रोक्न  योजना बैङ्कलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुको साथै अरु आर्थिक सुधार र आर्थिक सुशासनका लागि धेरै नै महत्वपूर्ण कामहरु गरेका छन् ।

कार्यक्रममा मन्त्रालयका उपसचिव महेन्द्रजंङ्ग शाही, प्रदेश कोष तथा लेखा नियन्त्रक रत्नप्रसाद सुवेदीलगायतले सचिव शर्माले अघि बढाएको सुशासनको मार्गलाई भत्किन नदिने प्रतिवद्धता जनाए ।

मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा मन्त्री शाहले सचिव शर्मालाई दोसल्ला ओढाउदै मायाको चिनो दिएका थिए भने अरु कर्मचारीहरुले पनि मायाको चिनो दिएका थिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया