
सुर्खेत – नेपाली काँग्रेसको तर्फबाट सुर्खेत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार विष्णु खड्काले आफ्नो चुनावी अभियानलाई अघि बढाएका छन् ।
हिजो पार्टीको तर्फबाट औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएसँगै खड्का आजदेखि पूर्ण रूपमा मतदाताको घरदैलोमा केन्द्रित भएका हुन् ।
खड्काले हिजो र आज गुर्भाकोट नगरपालिकाका विभिन्न बस्तीहरूमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गर्दै मत मागेका छन् ।
क्षेत्र नम्बर १ को चौतर्फी विकास, जनताको सुख-दुःखमा सारथी बन्ने प्रतिबद्धता र पार्टी संगठन निर्माणमा आफ्नो निरन्तर सक्रियतालाई मुख्य आधार बनाउँदै उनले यसपटक आफूलाई जिताउन आग्रह गरे ।
विकासका योजनालाई निरन्तरता दिने संकल्प
घरदैलोका क्रममा उम्मेदवार खड्काले निवर्तमान सांसद तथा नेपाली काँग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यस क्षेत्रमा सुरु गरेका विकास र समृद्धिका अधुरा योजनाहरूलाई पूर्णता दिन आफ्नो जित आवश्यक रहेको उल्लेख गरे ।
उनले भने, “पूर्ण दाइले कोर्नुभएको समृद्धिको मार्गचित्रलाई थप उचाइमा पुर्याउन र जनताको जीवनस्तर सुधार्न म प्रतिबद्ध छु ।”
प्रतिस्पर्धीमाथि कार्यकर्ताको टिप्पणी
यसपटकको निर्वाचनमा खड्कासँग मुख्य प्रतिस्पर्धीका रूपमा नेकपा एमालेका ध्रुवकुमार शाही र उज्यालो नेपाल पार्टीका ठम्मर विष्ट रहेका छन् ।
तर, स्थानीय काँग्रेस कार्यकर्ताहरूका अनुसार यी दुवै उम्मेदवारलाई यसअघि नै जनताले ‘टेस्ट’ गरिसकेका छन् ।
उनीहरूले नयाँ सोच र जोस भएको उम्मेदवार खोजिरहेको बेला विष्णु खड्का नै उत्तम विकल्प भएको दाबी गरे ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह, नेकपाका जीतबहादुर राना र राप्रपाका रविकिरण हमाल पनि चुनावी मैदानमा भए तापनि उनीहरू जनतामाझ खासै परिचित नभएको स्थानीयको बुझाइ छ ।
नयाँ र युवा मतदाताको रोजाइमा खड्का
अहिलेसम्म राजकीय पदमा नबसेका र ‘अनटेस्टेड’ अनुहार भएकाले पनि युवा र पुराना दुवै पुस्ताका मतदाता खड्काप्रति सकारात्मक छन् ।
विकास र समृद्धिको स्पष्ट भिजन भएका कारण यसपटक सुर्खेत १ का जनताले नयाँ अनुहारका रूपमा खड्कालाई नै रोज्नेमा काँग्रेस कार्यकर्ताहरू विश्वस्त देखिएका छन् ।
राराखबर । २०८२, ७ माघ बुधबार