राराखवर संवाददाता
सुर्खेत, १७ जेठ ।
सरकारले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठन गरेपनि न्याय पाउने कुरामा आफुहरु विश्वस्त हुन नसकेको सुर्खेतका द्वन्द्व पीडितले वताएका छन ।
स्थानीय शान्ति समिति सुर्खेतले गरेको कार्यक्रममा पीडकहरु नै अहिले शक्तिमा भएकाले कारवाही हुन्छ भनेर विश्वास गर्न नसकिने उनीहरुले उल्लेख गरेका छन । ढिलोगरी गठन भएको आयोगप्रति विश्वास टुटेको पनि उनीहरुको भनाई छ ।
द्वन्द्व पीडित ममता ढकाल र नन्दा श्रेष्ठले शान्ति समितिकै केही सदस्यले राहात पाएका व्यक्तिले उजुरी दिन मिल्दैन भनेर पीडितलाई हतोसाहित गर्ने खोजेको आरोप लगाउनु भयो । विद्यापुरका ताराप्रसाद पौडेलले न्याय पाउने कुरामा अहिलेसम्म धैर्य गरेर वसेको उल्लेख गदै आयोगले कारवाही नगरे पीडित आफै कारवाहीमा उर्तिन बाध्य हुने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो मेरो वुवालाई मार्ने मान्छे अहिलेपनि आफनै आँखा अगाडी घुमिरहेको छ त्यस्तालाई कारवाही भएन भने न्यायको अनुभुति कसरी गर्ने ?
कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले पीडितलाई न्यायको अनुभुति दिलाउनु सवैको जिम्मेवारी भएको वताउनु भयो । उहाँले सवैको साझा प्रतिवद्धता भएमात्र पीडितले न्याय पाउने र पीडकले कारवाही भोग्ने अवस्था सृजना हुने उल्लेख गर्नुभयो ।नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले कुनै पनि पीडित न्याय पाउनवाट बञ्चित नहोस भन्नेतर्फ सवैको ध्यान जानुपर्ने वताउनु भयो । उहाँले गाविस सचिव र गाउँ स्तरीय शान्ति समितिलाई परिचालन गरेर गाउमै पीडितका उजुरी संकलन गर्ने व्यवस्था मिलाउनु पर्नेमा जोड दिनुभयो ।
एमालेका अध्यक्ष धुव्रकुमार शाहीले पीडितले न्याय पाउने र पीडकमाथी कारवाही हुने किसिमले सवैले चौतर्फी दवाव सृजना गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष नरवहादुर विष्टले डलरको खेती गर्नेहरुले जनतावीच फेरी पनि बेमेल सृजना गर्न खोजेको भन्दै सवै सचेत रहनु पर्नेमा जोड दिनुभयो । यस्तै राष्टिय जनमोर्चाका अध्यक्ष गोविन्द्रप्रसाद सुवेदीले आयोग गठनपछि आशा, त्रास र निराशा वोकेर पीडितहरु वसेको उल्लेख गदै आयोगले न्यायको अनुभुति दिलाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा स्थानीय शान्ति समिति सुर्खेतका संयोजक मोहन थापाले अहिलेसम्म सत्य निरुपण तथा मेलमिलाप तर्फ ४ सय २० र वेपत्ता तर्फ ३७ वटा उजुरी परेको जानकारी दिनुभयो । अधिवक्ता कृष्णवहादुर हमालले डर त्रासको कारण पीडितले उजुरी दिन नसकिरहेको उल्लेख गदै पीडितलाई भेटेरै उजुरी लिने व्यवस्था मिलाउन आयोगलाई सुझाव दिनुभयो ।
उहाँले गम्भिर प्रकृतिका मुद्धामा संलग्नलाई कारवाही हुने कुरामा विश्वस्त हुन पनि सवैलाई आग्रह गनुृभयो ।
कार्यक्रममा राप्रपा नेपालका अमृत राना, राप्रपाका कविराम पुरी, नेमकिपाका बमवहादुर शाही, नेकपा क्रान्तिकारी माओवादीका खडानन्द लामिछाने, जनमुक्ती पार्टीका एसवहादुर दर्लामी लगायतले आफनो भनाई राख्नु भएको छ ।
राराखबर । २०७३, १७ जेष्ठ सोमबार