बिष्णु रावल, जाजरकोट
लामो समयदेखि सामाजिक क्षेत्रका क्रियाशिल युवालय संस्थाले जाजरकोटका भुकम्प प्रभावित सुत्केरी महिला तिनका बालबालिकाहरुलाई न्यानो कपडा, पोषणयुक्त सामाग्रीसहितको प्याकेज सहयोग गरेको छ ।

नलगाड नगरपालिका ९ तात्र, घरंगा र बास्कोट टोलका १० महिनासम्मका बच्चा भएका ४० जना सुत्केरी महिलालाई प्रतिव्यक्ति झण्डै १० हजार बराबरको सहयोग सामाग्री प्रदान गरिएको युवालयका सदस्य मिना विश्वकर्माले बताइन् ।
गाउँमै पुगेर सुत्केरी महिला र बालबालिकाहरुलाई सहयोग हस्तान्तरण गर्दै उनले भुकम्पले दिएको दुख र पिडामा युवालयले साथ मात्र दिएको बताइन् ।
यस्तो बेला प्रायजसो महिला र बालबालिका उच्च जोखिममा पर्ने भएकोले सबैले सक्दो सहयोग गर्नु पर्नेमा जोड दिइन् ।

दुर्गम गाउँका सुत्करी महिला र बालबालिकालाई सहयोग सामाग्रीको लागि पहल र समन्वय गरेका सामाजिक अभियन्ता बीबीसीमा कार्यरत पत्रकार प्रकाश पन्तले गाउँ र युवालयवीच पुलको काम गर्न पाउँदा खुशी लागेको बताए ।
उनले आगामी दिनहरुमा पनि सहयोगी हातहरुलाई दुर्गम गाउँहरुमा पुर्याउन सक्दो प्रयास र भुमिका निर्वाह गर्ने उल्लेख गरे ।

सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा वडा नम्वर ९ का वडाध्यक्ष भविन्द्रबहादुर सिंहले आफ्नो वडाभित्रका सुत्केरी महिला र बालबालिकाको लागि पहल र समन्वय गर्ने व्यक्तिका साथै सहयोग गर्ने संस्थालाई आभार व्यक्त गरे ।
सहयोग सामाग्री पाएपछि खुशी हुँदै सुत्केरी महिलाहरुले सहयोग सामाग्रीलाई सही रुपमा सदुपयोग गर्ने बताए ।

सहयोग सामाग्री वितरणमा युवालय संस्थालाई गाउँसम्म पुर्याउन अहंम भुमिका निर्वाह गरेका युवा समाजसेवी मिलन विश्वकर्मा, स्थानीय समाजसेवी गोरख सिंह, महेन्द्र सिंह, हरिबहादुर सिंहलगायतको सहभागी थिए ।
राराखबर । २०८०, २८ माघ आईतवार