![]()
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीको विकासका लागि कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । उनले कर्णाली प्रदेशको शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रलगायतको विकासका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।
कालिकोटको सुनथराली विमानस्थलको सोमबार उद्घाटन गर्दै उपप्रधानमन्त्री खडकाले कर्णालीमा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा गरिएका प्रतिबद्धता पूरा गरिने पनि बताए ।
हरेक बजेटमा कर्णालीलाई प्राथमिकता दिएको आएको बताउँदै उनले यहाँका समस्याबारे आफू जानकार रहेको बताएका थिए ।
उनले भने, ‘कर्णालीको विकासमा राजनीति गर्न हुँदैन । सबै मिलेर कर्णालीको विकासमा हातेमालो गरौं । कर्णाली राजमार्ग, भेरी कोरिडोर, मुगुका प्रमुख सडकहरू निर्माण गर्नेदेखि विद्युत् उत्पादनका क्षेत्रका कामहरूमा पनि सबैले हातेमालो भएर लाग्नुपर्छ ।’
निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले कालिकोटमा सम्बोधन गर्ने क्रममा बोलेको कुरामध्ये एउटा काम विमानस्थल निर्माण गरी पूरा गरिएको बताए ।
कालिकोटका नागरिकलाई यातायातमा सहज हुनेगरी तीनै तहका सरकारले समन्वय गर्ने पनि उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले बताए । उनले वर्तमान प्रधानमन्त्री र आफूले निर्वाचनका बेला कर्णालीमा गरेका प्रतिवद्धता क्रमश: पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।
कालिकोटको शिक्षा, स्वास्थ्य, पूर्वाधार र यातायाततर्फको विकासमा सबै एकताबद्ध भएर लाग्नुपर्ने पनि उनको भनाइ थियो ।
‘कालिकोटको विकासको लागि केन्द्र सरकारको तर्फबाट पहल गरिरहेको छु, कालिकोटका पर्यटकीय क्षेत्रको विकासको लागि र कर्णाली प्रदेशको विकासको लागि नेपाल सरकारले एक किसिमको खाका तयार गरेको छ,’ उनले भने ।
कार्यक्रममा पर्यटनमन्त्री सुदन किराँती, मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्री तथा सांसद महेन्द्रबहादुर शाही र पूर्वमुख्यमन्त्री तथा कर्णाली प्रदेशसभा सदस्य जीवनबहादुर शाहीलगायतको उपस्थिति थियो ।
राराखबर । २०८०, १४ फाल्गुन सोमबार