महिला मैत्री सहर परियोजनाको दुईदिने कार्यशाला सम्पन्न

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा महिला मैत्री सहर परियोजनाको दुईदिने कार्यशाला सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिका, युएनओपियस, सिटिज अलायन्स र युएनह्याबिट्याट्को साझेदारीमा ‘सिटीज फर वुमेन’ परियोजना अन्तर्गत कार्यशाला सम्पन्न भएको हो ।

वीरेन्द्रनगर सहरलाई महिला, बालबालिका र ज्येष्ठ नागरिकमैत्री भौतिक संरचना निर्माण गरी समावेशी सहर बनाउन कार्यक्रममा सहभागी सरोकारवालाहरुले बताएका छन् । सहरहरूको विकासका क्रममा सबैलाई अटाउन सक्ने समावेशी संरचना निर्माण गर्नुपर्ने उनिहरुको भनाई छ ।
सहको विकासका लागि केवल भौतिक पूर्वाधारमै ध्यान केन्द्रित नगरी मानव विकासलाई पनि प्राथमिकतामा राखिने वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले बताइन् ।

महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका र ज्येष्ठ नागरिकहरूको आवश्यकता अनुरूप पूर्वाधार निर्माण गर्ने कुरा मात्र नभई, सहरलाई अवरोध र असमानताको प्रतीक बन्न नदिने लक्ष्य राखिएको ढकाल बताउँछिन् । ‘हामीले अब बन्ने प्रत्येक भौतिक संरचनालाई सबैको पहुँचयुक्त बनाउने छौं,’ मेयर ढकालले भनिन्, ‘हाम्रा खुल्ला र सार्वजनिक क्षेत्रहरूलाई महिला मैत्री बनाइरहेका छौं’ ।

वीरेन्द्रनगरमा सार्वजनिक र सरकारी जग्गाहरूलाई पुनः व्यवस्थित गर्दै ती क्षेत्रहरूलाई खुल्ला पार्कमा रूपान्तरण गर्ने कार्य निकै प्रशंसनीय छ । मेयर ढकालको भनाइअनुसार, यी पार्कहरू विशेष रूपमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, र ज्येष्ठ नागरिकमैत्री रूपमा निर्माण भइरहेका छन्, जसले समावेशीता र पहुँचको नयाँ उदाहरण प्रस्तुत गरेको छ ।

समुदायको शारीरिक र मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्नेछ । खुल्ला पार्कहरूको यस्तो डिजाइनले सबै उमेर समूहका मानिसहरूलाई सहज रूपमा प्रयोग गर्न प्रेरित हुने मेयर ढकालको भनाई छ ।

जलवायु उत्थानशील सहरी विकास योजना तर्जुमा, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन, लैङ्गिक मूल प्रवाहीकरण र समावेशिता, समावेशी सहरी खुल्ला क्षेत्र निर्माण तथा व्यवस्थापन र महिला, बालबालिका, अपाङ्गता भएका र ज्येष्ठ नागरिकमैत्री रूपमा काम भैरहेको उक्त परियोजनाका अर्वन प्लानर सुगम गौतमले जानकारी दिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया